यस्तो छ, विद्युतीय बसमा सुविधा

98

कात्तिक ७,
ललितपुर । विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन । बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि नै रुटको तय हुने बताएको छ । केही दिनभित्रै बस दर्ता भइसक्ने साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनले भने, ‘दर्ता भएपछि नै कुन ठाउँमा आवश्यक छ हेरेर त्यो रुटमा चल्नेछ ।’ काठमाडौँ उपत्यकाको नगर क्षेत्रमा बस चल्ने उनले बताए । एसियाली विकास बैंकले पाँच वटा बस लुम्बिनी क्षेत्र विकास कोषलाई अनुदान सहयोगमा दिएको हो । चिनियाँ निर्माण कम्पनी विवाइडीले बस निर्माण गरेको हो । यी बस केही समयका लागि मात्रै काठमाडौँ उपत्यकामा चल्नेछ ।

बस व्यवस्थापनको जिम्मेवारी साझा यातायातले लिएको छ । लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि बस लुम्बिनी लगिने उनले बताए । उनले भने, ‘काठमाडौँ उपत्यकामा हामीले नै यी बस सञ्चालन गर्नैछौँ ।’
कुल २९ जना यात्रु क्षमता रहेको बस अपाङ्गतामैत्री समेत रहेको पाण्डेयले बताए । यो बसमा ‘लिफ्ट सिस्टम’ हुँदा ‘ह्विलचेयर’ सजिलै चढाउन र ओर्लन सकिने छ । उनले भने, ‘बस सबै यात्रुका लागि सजिलो खालको छ ।’ विद्युतीय बसको प्रयोगले वातावरण सफा बनाउने हुँदा जनस्वास्थ्यमा समेत सकारात्मक असर गर्ने उनले बताए । विद्युतीय बससँगै अरु विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसमेत लागेको छ । बीस ठाउँमा ‘चार्जिङ स्टेशन’ स्थापना गर्न प्रक्रिया थालेको छ ।