दशैंँ महोत्सवविरुद्ध व्यवसायी

99

असोज ११,
विदुर । साँस्कृतिक पर्वलाई प्रवद्र्धन गर्ने र इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने उद्देश्य लिएर त्रिशूली बजारमा हुन लागेको दशंैँ महोत्सवका विरुद्वमा केही व्यवसायी उत्रिएका छन् । जिल्लाकै ऐतिहासिक त्रिभुवन त्रिशूली माविले महोत्सव आयोजना गर्ने तयारी थालेसँगै आज बट्टार बजारका व्यवसायीले त्यसको विरोध गर्दै रोक्न दवाबस्वरुप पदयात्रा गरेका छन् ।
नजिकिँदो दशैँ पर्वलाई लक्ष्य गरी यही असोज २२ देखि ३० गतेसम्म विद्यालयले नुवाकोट दशैँ महोत्सव आयोजना गर्दैछ । डिप्लोमा इन इञ्जिनीयरिङ सञ्चालन गर्ने उद्देश्य लिएर विद्यालयले महोत्सवको आयोजना गर्न लागेका बताइएको छ । दशैँका बेला महोत्सवले जिल्लाका अन्य व्यवसायलाई प्रभावित पार्ने बताउँदै बट्टार बजारका कपडा, तयारी कपा तथा शृङ्गार प्रसाधन व्यापारीले विरोध गरेका हुन् ।

उनीहरुले नुवाकोट कपडा रेडिमेड तथा कस्मेटिक व्यवसायी संघ र नुवाकोट उद्योग वाणिज्य संघको तुलमा दबाब पदयात्रासहित जिल्ला प्रशासन कार्यालय र विदुर नगरपालिकालाई महोत्सव रोक्नुपर्ने माग राख्दै ज्ञापनपत्रसमेत बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ उद्धवबहादुर थापा र नगरपालिकाका प्रमुख सञ्जु पण्डितले महोत्सव आयोजक र व्यवसायीबीच समझदारी गरेर विवाद सुल्झाउन सुझाव दिनुभयो ।