Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय जब गरिब बृद्धले पत्नीको शव दाहसंस्कार गर्न मलामी पाएनन्

जब गरिब बृद्धले पत्नीको शव दाहसंस्कार गर्न मलामी पाएनन्

135

साउन २१,
एजेन्सी– भारतको उडिसा राज्यको एउटा गाउँमा एकजना गरिब किसानले आफ्नी मृत श्रीमतीको शव दाहसंस्कार गर्न समेत मलामी पाएनन् । तल्लो जातकी महिला विवाह गरेको आरोप खेप्दै आएका उडिसास्थित बौद्ध जिल्लाको कृष्णपाली गाउँका ६० वर्षीय चतुरभुजा बाँकाले आफ्नी मृत पत्नीको दाहसंस्कारका बेला मलामी समेत नपाएका हुन् । घटना गत बिहिबार अर्थात अगष्ट २ को हो । बाँकाले ४० वर्षीय पत्नी पञ्चा महाकुडलाई लगातार पखाला लागेपछि स्थानीय अस्पतालमा भर्ना गरे । त्यसको लगत्तै उनको अस्पतालमै मृत्यु भयो । आर्थिक रुपमा अत्यन्तै कमजोर रहेका चतुरभुजाकी पत्नीको शव राज्यसरकार र अस्पतालको सहयोगमा उपलव्ध गराइएको शववाहनमार्फत गाउँमा पुर्याइएको थियो ।

शव गाउँमा पुर्याइए पनि आफ्ना छिमेकीहरुले चतुरभुजालाई वास्ता गरेनन् । आफ्नी प्यारी पत्नीको लास उठाउन कसैले पनि सहयोग नगरेपछि उनले आफ्नै साइकलमा शव राखेर मशानघाट पुर्याएर दाहसंस्कार गरे । उनले पत्नीको शव साईकलमा राखेर डोर्याइरहेको तस्वीर अहिले सामाजिक सञ्जाल र मिडियाहरुमा संसारभर भाइरल भइरहेको छ । पत्नीको शव लिएर मसानघाट जाँदा मलामी नपाएका उनलाई रेडक्रस र स्थानीय सरकारले काजक्रियाका लागि भने १२ हजार रुपैयाँ सहयोग गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

अहिले सो घटनालाई लिएर उडिसा राज्यमा राजनीतिक रुपमा समेत चर्को बहस चलिरहेको छ । उडिसा राज्यमा विपक्षी दलको रुपमा रहेको भाजपाले बीजेडीको नेतृत्वमा रहेको सरकारलाई गरिबहरुप्रति अक्षम, निस्क्रिय र असंवेदनशील भएको भन्दै चर्को आलोचना गरिरहेको छ । यसअघि भारतमै दाना माझी नामका एकजना आदिवासी गरिब पुरुषले अस्पतालबाट आफ्नी विरामी पत्नीलाई लैजान एम्बुलेन्स नपाएर १० किलोमिटर पैदल हिडेको तस्विर संसारभर भाइरल भएको थियो । तीनवर्ष अघिको सो तस्विरले पनि भारतीय समाजको चरित्र उदांगो बनाएको थियो । -रातोपाटी