बच्चालाई एडिएचडी त छैन ?

182

मानिसको मानसिक विकास बच्चा अवस्थामै हुने गर्छ । त्यसैले उनीहरूको विशेष ख्याल राख्न जरुरी हुन्छ । यदि यस्तो अवस्थामा कुनै मानसिक समस्या देखिएमा त्यसले पछिसम्म असर पु-याउन सक्छ । बालबालिकामा देखिने एउटा मानसिक समस्या भनेको एडिएचडी पनि हो ।

के हो एडिएचडी ?

– हालै गरिएको अध्ययनको तथ्यांकअनुसार विश्वमा ५ देखि ७ प्रतिशत बालबालिका एडिएचडीको सिकार भएका छन् । एडिएचडीलाई अटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर भनिन्छ । एडिएचडी न्युरो बिहेबिएरल डिसअर्डरभित्र पर्ने एउटा रोग हो । यस्तो समस्या भएका बालबालिका कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न नसक्ने हुन्छन् । त्यस्तै, अभिभावकले पनि आफ्नो बच्चालाई नियन्त्रणमा राख्न सक्दैनन् । यस्तो समस्या भएका बालबालिका असामान्य तरिकाले चल्ने र बेचैन देखिने गर्छन् । यस्तो समस्या धेरैजसोमा बच्चा अवस्थाबाट नै सुरु हुने र किशोर अवस्थासम्म रहिरहने हुन्छ ।

– अटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डरको समस्या भएका २ दशमलव ४ प्रतिशतमा अन्य मानसिक समस्या बोर्डरलाइन पर्सनालिटी डिसअर्डर, एन्टिसोसियल पर्सनालिटी डिसअर्डर, वाइपोलार डिसअर्डर, अनिद्रा, जेनरलाइज्ड एन्जाइटी डिसअर्डर र मेजर डिप्रेसन हुने गर्दछ ।

कारण

– मनोविज्ञानअनुसार एडिएचडीको निश्चित कारण भन्न गाह्रो छ । या यसको यकिन गर्न नै गाह्रो छ । तर, पनि एडिएचडी हुने सम्भावित कारण भने छन् ।

– यसको एउटा कारण आनुवंशिक हो । विभिन्न अध्ययनले परिवारको कोही सदस्यलाई यो समस्या छ भने भावी सन्तानलाई पनि हुने सम्भावना उत्तिकै हुन्छ ।

– यसका केही बाह्य वातावरणीय कारण पनि छन् । गर्भावस्थामा आमाले गर्ने मध्यपानले बच्चालाई फेटल अल्कोहोल एस्पेक्ट्रम डिसअर्डर हुन सक्छ । यस्तो अवस्थामा गर्भको बच्चा तुहाउने औषधि सेवन, विषपानजस्ता गतिविधिले एडिएचडीको लक्षण देखा पर्न सक्छ ।

– समय नपुगी बच्चा जन्मिँदा वा तौल कम भई जन्मेको बच्चामा पनि यस्तो समस्या हुन सक्छ ।

– गर्भावस्थामा आमालाई छारेरोग, टाउकोमा चोटपटक आदि कारणले गर्भमा बच्चाको मस्तिष्कमा समस्या हुँदा पनि यस्तो खालको डिसअर्डरको समस्या निम्तिन सक्छ ।

– विभिन्न अध्ययनले बच्चाको मस्तिष्कको केही भाग सानो हुने समस्याले पनि एडिएचडीको समस्या हुन सक्छ ।

– मस्तिष्कमा हुने न्युरो ट्रान्समिटरको तहमा घटबढ भएमा विभिन्न रसायनको कार्यमा कमी आउँछ । र, बच्चामा एडिएचडी हुने सम्भावना बढेर जान्छ ।

लक्षण

– सामान्यतया बालबालिकाको बढ्दो उमेरसँगै उनीहरूमा विभिन्न समस्या देखिन थाल्छन् । एडिएचडीको समस्या बालबालिकामा ७ देखि १२ वर्षको अवधिमा देखा पर्ने गर्छ ।

– जुनसकै काममा एकाग्रताको साथ लाग्न नसक्ने ।

– अनावश्यक चकचक गर्ने, आवश्यकताभन्दा बढी बोल्ने, नसोची बोल्नेलगायत लक्षण देखा पर्छ ।

– यस्ता बालबालिकामा सजिलै विचलित हुने, बढी बिर्सिने, एउटा काम पूरा नगरी अर्को काम सुरु गर्ने, नयाँ विषय सिक्न गाह्रो हुनेलगायत समस्या देखिने गर्छ ।सिोधेको प्रश्न पूरा नहुँदै उत्तर भनिहाल्ने, सजिलै भ्रमित हुनेजस्ता लक्षण पनि देखिन्छ ।

– यस्तो समस्या भएका कतिपयले टाउको हल्लाइरहने गर्छन् ।

– उनीहरू आफ्नो सामान जतनसाथ वा मिलाएर राख्न पनि नसक्ने खालका हुन्छन् ।

– उनीहरू विश्राममा जान सक्दैनन् ।

– छटपटाइरहने समस्या पनि हुन्छ । त्यस्ता व्यक्तिले अरूको काममा हस्तक्षेप गर्ने पनि गर्छन् ।

उपचार

– एडिएचडीको कग्नेटिभ बिहेबिएर, बिहेबिएरल, फेमिलीलगायत थेरापीबाट उपचार गर्न सकिन्छ ।
– बच्चा र अभिभावकलाई यसबारे शिक्षा तथा तालिम दिनु पनि पर्छ ।

– बच्चालाई समाजमा घुलमिल भएर बस्न सहज वातावरण, यससम्बन्धी तालिमलगायत प्रदान गर्नुपर्छ । यसका साथै मनोविमर्शकर्ता तथा मनोचिकित्सकसँग राम्रोसँग परामर्श लिनु आवश्यक हुन्छ ।   -नयाँ पत्रिका