साउन १४,
बाँके । नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । पन्ध्र महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले अप्रिल २०१६ मा जिम्मा लिएको थियो । अव्यवस्थित रुपमा सञ्चालित नेपालगञ्जको बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन १५ महिनाभित्र निर्माण सक्ने सम्झौता भए पनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा दुई महिनाअघि पुनः म्याद थप गरिएको थियो । ठेकेदार कम्पनीको लापर्बाहीका कारण नेपालगञ्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ ।
निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउन्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न तथा टिकट काट्न समस्या भएको छ । निर्माण कम्पनीले गत जुन महिनाभित्र काम सक्ने गरी रु २० करोड लागत अनुमानमा ठेक्का लिएको नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनियर सुरजकुमार गुप्ताले बताउनुभयो । साढे चार बिगाह क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो ।