Friday, October 2, 2026
Home पत्रपत्रिका असोजसम्म उपनिर्वाचन, वामदेवलाई डोल्पाबाट चुनाव उठाउने तयारी

असोजसम्म उपनिर्वाचन, वामदेवलाई डोल्पाबाट चुनाव उठाउने तयारी

पर्यटन राज्यमन्त्री तथा नेकपा सांसद धनबहादुर बूढालाई राजीनामा गराउने योजना

251

नयाँ पत्रिका दैनिक साउन ९,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।
सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले ‘संसद्मा तपाईंको आवश्यकता परेको’ भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन पनि दिइसकेका छन् ।

नेता गौतमले पनि अध्यक्षद्वयले आश्वासन दिएको बताए । ‘दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्‍यो, ल्याउँछौँ भन्नुभएको छ । थप कुरा अहिल्यै नभनौँ’, उनले नयाँ पत्रिकासँग भने । स्रोतका अनुसार सांसद बुढाको राजीनामाबारे दुई अध्यक्षबीच छलफल भइसकेको छ । तर, कहिले भन्ने टुंगो भने लागेको छैन । बुढाको राजीनामा स्वीकृत भएपछि सरकारले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि आग्रह गर्ने स्रोतले जनाएको छ ।

असोजसम्म उपनिर्वाचन
भक्तपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ ९ख० मा पनि उपनिर्वाचन गर्नुपर्नेछ । प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि उक्त क्षेत्र रिक्त छ । सरकारले बुढाको राजीनामापछि यी दुवै क्षेत्रको उपनिर्वाचन गराउन आयोगलाई आग्रह गर्ने तयारी गरेको हो । नेकपा स्रोतका अनुसार सरकारले असोजसम्म उपनिर्वाचन गराउन निर्वाचन आयोगलाई आग्रह गर्नेछ ।