असोजसम्म उपनिर्वाचन, वामदेवलाई डोल्पाबाट चुनाव उठाउने तयारी

पर्यटन राज्यमन्त्री तथा नेकपा सांसद धनबहादुर बूढालाई राजीनामा गराउने योजना

246

नयाँ पत्रिका दैनिक साउन ९,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।
सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले ‘संसद्मा तपाईंको आवश्यकता परेको’ भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन पनि दिइसकेका छन् ।

नेता गौतमले पनि अध्यक्षद्वयले आश्वासन दिएको बताए । ‘दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्‍यो, ल्याउँछौँ भन्नुभएको छ । थप कुरा अहिल्यै नभनौँ’, उनले नयाँ पत्रिकासँग भने । स्रोतका अनुसार सांसद बुढाको राजीनामाबारे दुई अध्यक्षबीच छलफल भइसकेको छ । तर, कहिले भन्ने टुंगो भने लागेको छैन । बुढाको राजीनामा स्वीकृत भएपछि सरकारले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि आग्रह गर्ने स्रोतले जनाएको छ ।

असोजसम्म उपनिर्वाचन
भक्तपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ ९ख० मा पनि उपनिर्वाचन गर्नुपर्नेछ । प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि उक्त क्षेत्र रिक्त छ । सरकारले बुढाको राजीनामापछि यी दुवै क्षेत्रको उपनिर्वाचन गराउन आयोगलाई आग्रह गर्ने तयारी गरेको हो । नेकपा स्रोतका अनुसार सरकारले असोजसम्म उपनिर्वाचन गराउन निर्वाचन आयोगलाई आग्रह गर्नेछ ।