टिपरको ठक्करबाट काभ्रेमा एक वर्षमा २७ को मृत्यु

104

नयाँ पत्रिका दैनिक- साउन ८,
काभ्रे । बनेपा नगरपालिका–७ चारदोबाटोमा सोमबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ । बनेपाबाट धुलिखेलतर्फ गइरहेको बा।२क ३९३४ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको बा।८३प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नमोबुद्ध नगरपालिका–७ का ५७ वर्षीय जितबहादुर तामाङको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनीलजंग शाहका अनुसार तामाङको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि आक्रोशित भिडले टिपरमा आगजनी गरेका थिए । प्रहरीका अनुसार टिपरचालक नुवाकोट विदुर नगरपालिका–१ का २९ वर्षीय सुधन श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

टिपर सञ्चालनमा रोक लगाउने चेतावानी
टिपरका कारण धेरैले अकालमा ज्यान गुमाएको जनाउँदै स्थानीयले टिपर सञ्चालनमा रोक लगाउने चेतवानी दिएका छन् । स्थानीय विशाल तामाङले भने, ‘टिपरचालकले घाइते अवस्थामा रहेका मोटरसाइकलचालकलाई ब्याक गरेर किचेर मारे । म चारदोबाटाबाट धुलिखेलमा जान गाडी चढ्ने तयारीमा थिएँ, एक्कासि ठूलो अवाज आयो, हेर्दा दुर्घटना भएको रहेछ । मोटरसाइकलचालक घाइते अवस्थामा थिए, पछि सारेर किचेर मारयो ।’

एक वर्षमा ६५ जनाको ज्यान गयो
जिल्ला ट्राफिक कार्यालय काभ्रेले दिएको तथ्यांकअनुसार जिल्लामा एक वर्षमा भएका विभिन्न सवारी दुर्घटनका कारण ६५ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये २७ जनाको टिपरको ठक्करबाट ज्यान गएको छ । जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले सडक पूर्वाधारदेखि चालकको लापरबाहीका कारण दुर्घटना बढिरहेको बताए । यसको न्यूनीकरणका लागि धेरैभन्दा धेरै सचेतनाका कार्यक्रम गर्नुपर्ने उनले बताए । दुर्घटनापछि स्थानीयले बिपी राजमार्गको भकुन्डेबेसीमा सवारी आवागमनमा अवरोध गरेका छन् । सडक अवरोधका कारण यातायात ठप्प छ ।