दार्चुलाका विभिन्न नदी किनारका बासिन्दालाई बाढीको जोखिम

257

साउन ७,
बैतडी । दार्चुलाका विभिन्न नदी किनारका बासिन्दालाई बाढीको जोखिम बढ्दै गएको छ। बर्खायामसँगै नदीको सतह बढ्दा चमेलिया नदी वारिपारि गोकुलेश्वरका बासिन्दा चिन्तित भएका छन्। बैतडीको डिलासैनी गाउँपालिका–५, हरिनगर क्षेत्र र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको वादीबस्ती जोखिममा छ। नदी किनारमै घर बनाउँदा बाढीको जोखिम बढ्न थालेपछि स्थानीय त्रसित भएका छन्। पुराना संरचनामात्र होइन नयाँ बन्ने घर पनि नदी छेउमै बन्न थालेका छन्। हरिनगरमा २०५० सालमा दार्चुला जोड्ने सडकले गोकुलेश्वर छोएसँगै बगरमा घर बन्ने क्रम बढेको हो। यहाँ करिब चार दर्जन घर बनिसकेका छन्। ४० परिवार रहेको पारि दार्चुलातर्फको वादीबस्ती पुरानो बस्ती हो। तीमध्ये अधिकांश ६ वर्षयता बनेका हुन्। दार्चुलामा पर्ने गोकुलेश्वरमा भने अस्पताल, विमानस्थल, क्याम्पसलगायत सरकारी र निजी संरचना छन्। वादीबस्तीको माथिसम्म तटबन्ध गरिएको छ। वारि बैतडीमा तटबन्ध नहुँदा नदी सर्दै आएको छ। ‘कति बेला नदी बजारमा पस्छ सधै डर भइरहन्छ,’ स्थानीय व्यापारी सुरेश श्रेष्ठले भने, ‘पारिको तटबन्ध र वारि छेउबाटै घर बनेकाले जोखिम बढी छ।’ माथिल्लो बस्ती सनगाउँ र देवगाउँबाट आउने पहिरोले अर्को जोखिम थपिएको छ । पहिरोमा सधै लेदो बग्ने गरेको छ। पहिरोले खोला पुरिएर बजारमा पस्ने खतरा छ। बर्खामा घरको आधा तलासम्म पानी उक्लिने बजार पस्ने बाटोसमेत बन्द हुने गरेको स्थानीय बताउँछन्। हरिनगरमा व्यापारिक प्रयोजनका लागि घर निर्माण भए पनि यातायात र अन्य सुविधाको कारण परिवार सर्ने क्रम बढेको छ। वादी परिवारको अन्य ठाउँमा सर्ने विकल्प छैन। दुई परिवारबाहेक कसैको नाममा जग्गा छैन। हिउँदमा अढाइ मिटर बहाव रहने चमेलिया नदी बर्खामा बढ्न थाल्छ। बर्खामा ६ मिटरसम्म गहिरो बन्ने वर्षा मापन केन्द्रको तथ्यांकमा छ। पहाडी क्षेत्र भएकाले माथिल्लो क्षेत्रमा बाढीको पूर्वसूचना संयन्त्र स्थापना गर्न सकिएको छैन। गैरसरकारी संस्थाहरूको सहयोगमा माथिल्लो तटीय क्षेत्रका समुदाय र प्रहरी चौकीमा विपद् पूर्वसूचनाका लागि सञ्चार संयन्त्र राखे पनि भौगोलिक रूपमा प्रभावकारी हुन सकेको छैन। स्थानीय तहले पनि जोखिमयुक्त ठाउँमा घर नबनाउने सल्लाह दिनुपर्ने भए पनि बर्सेनि घर बनाउने क्रम रोकिएको छैन। जोखिमयुक्त ठाउँको बस्ती अन्यत्र सार्न पहलसमेत नगरेको स्थानीयको गुनासो छ।