असार ३२,
हाम्रो समाज अझै विभिन्न खाले विभेदबाट मुक्त हुन सकिरहेको छैन । समाजमा विभिन्न खालका कुरीति अन्धविश्वास अझै कायमै छ । यस्तै विभेदमध्येको एउटा उदाहरण हो– छाउपडी प्रथा । छाउपडी प्रथाको अन्त्य गर्नका लागि विभिन्न सङ्घ संस्थाहरूले मौसमी खेती गरिरहेका छन् । मौसमी खेती भन्नाले उनीहरूले दतृसंस्था भेटेपछि मात्र यस विषयमा बोल्ने गरेका छन् तर विभेद जस्ताको त्यस्तै रहेको पाइएको छ । सुदूरपश्चिममा छाउपडी प्रथा अझै धेरै मान्ने गरिन्छ । त्यसो त सुदूरपश्चिमका बैतडी, दार्चुला, बाजुरा, बझाङलगायतका जिल्लाहरूमा पनि डोटीकै हाराहारी वा डोटीभन्दा बढी छाउपडी प्रथा छ । डोटी सुदूरपश्चिमकै क्षेत्रीय सदरमुकाम भएका कारण यहाँका बासिन्दाहरूको चेतना स्तर माथि उठेको हुनुपर्ने, त्यो हुन सकेको छैन । महिनावारी वा नछुने हुनु कुनै अपराध होइन न त यो भगवानको श्राप नै हो । यो त प्रकृतिको नियम हो । किशोरावस्थामा प्रवेश गरेकी महिलाहरूमा जब मासिक श्राव सुरु हुन्छ, तब उसलाई सन्तान जन्माउन सक्षम भएकी मानिन्छ । मासिक श्राव पाठेघरको कार्य हो, जसलाई अण्डाशयको क्रियाकलापले प्रभावित गरिरहेको हुन्छ । पाठेघरभित्र रहेका रक्त तथा अन्य ग्रन्थि श्रावहरू अण्ड निसेचित नभएको अवस्थामा शरीर बाहिर उत्सर्जित हुने गर्दछ । यसैलाई मासिक श्राव वा महिनावारी भएको भनिन्छ । तर हाम्रो समाजमा यसलाई नछुने भएको भन्छन् । यो अन्यायपूर्ण र विभेदपूर्ण भाषा हो । ‘बाहिर हेर्दा रामराम, भित्रतिर तथानाम’ भने जस्तो व्यवहार सुदूरपश्चिमका अगुवा महिलाहरू गर्ने गर्दछन् । ‘छाउपडी प्रथाको अन्त्य गर’ भनेर नारा लाउने र महिला आन्दोलनको नेतृत्व गर्ने महिलाहरू आफू मासिक श्राव हुँदा चार, पाँच दिनसम्म आफैलाई अछुत घोषणा गरेर पर बसेका घटना पनि हामीले देखेका छौँ । चार दिनसम्म अलग बस्ने कसैसँग नछुने र चार दिन भएको दिन नुहाइ धुवाइ गरेर गाईको गहुँत वा सुन पानी चाखेर शुद्ध हुने अगुवा महिलाहरू हाम्रो सुदूरपश्चिममा प्रशस्त रहेका छन् । गैससमा लागेका व्यक्तिहरू पुरुष हो या महिला नछुनेको भूतबाट अझै मुक्त हुन सकेका छैनन् । भाषण गर्दा छाउपडी प्रथा अन्त्य हुनुपर्छ भन्छन् तर आफू वा आफ्नो परिवारका महिला महिनावारी भए टाढै बस्न लगाउँछन् । छाउपडीका गोठ भत्काउन गाउँ–गाउँ जान्छन् । यति छाउपडी गोठ भत्कायौँ भन्छन् तर आफू फेरि गोठमा नै बस्छन् । गैससहरूले ब्यानर प्ले कार्ड अगाडि देखाएर, गाउँका महिलाहरू सहरमा उतारेर, नारा जुलुस गर्न लगाउँछन्, ‘छाउपडी प्रथा अपराध होइन, भगवानको देन हो’ भन्न लगाउँछन् फोटो खिच्छन् । त्यसै फोटो भजाउँछन, आफ्नो खेती चलाउँछन् । तिनै महिलाहरू जसले बजारमा नारा लगाए जसलाई छाउपडी प्रथा भनेको के हो भन्ने पनि राम्रोसँग थाहा छैन, फेरि घर गएर उही संस्कार अँगाल्छन् । कतिपय अवस्थामा हाम्रो सामन्ति संस्कारले वा सामन्ति संस्कार बोकेको समाजले त्यसो गर्न दिँदैन । केही महिलाहरू त्यसकारणले पनि खुलेर छाउपडी प्रथाको विरोध गर्न सकिरहेका छैनन् । यो समस्या विशेष गरी ग्रामीण भेगका महिलाहरूमा बढी देखिएको छ । उनीहरू आफू यस्तो अपराधपूर्ण प्रथाको अन्त्य गर्न चाहन्छन् तर पनि समाज र घर परिवारको डरले यस्तो गर्न सक्दैनन् । नेतृत्व तहमा भएका अधिकांश महिलाहरू जसले महिला आन्दोलनको नेतृत्व गरिरहेका छन्, उनीहरू नारा लगाउँछन् तर पनि यो अवस्था भनेको नछुने अवस्था हो भन्ने मानसिकता बोकिरहेका हुन्छन् ।महिनावारी भएका बेला अलग नबसेमा कुल देवता, ईष्ट देवता रिसाउँछन् । देवी देवताले श्राप दिन्छन् अनि हामी विरामी हुन्छौँ । हामीलाई अनेक रोग लाग्न सक्छ । हाम्रो भौतिक एवम् मानवीय क्षति हुन सक्छ । हामीमा बाँझोपन आउन सक्छ भन्ने डरका कारण अझै पनि त्यही संस्कारलाई मान्न बाध्य भएका छन् । उनीहरूलाई बाहिरी रूपमा हेर्दा न त समाजको दबाब रहेको छ, न त घर परिवारको दबाब । छ त केवल सामन्ती सोचको, परम्परागत संस्कारको, देवी देवताको डरको ।मासिक श्राव भएको बेला शारीरिक सम्बन्ध नराख्नु राम्रो कुरा हो । किनभने त्यसबेला शारीरिक सम्बन्ध राख्नाले एक त यौनरोगहरू हुने सम्भावना हुन्छ भने अर्को कुरा महिलाको यौन अङ्गमा घाउ हुने सम्भावना बढी रहन्छ । यो वैज्ञानिक रूपले पुष्टि भएको कुरा हो । तर मासिक श्रावलाई नछुनेको संज्ञा दिएर छुनै नहुने घरभित्र प्रवेश गर्नै नहुने, आपूmभन्दा ठूलासँग बोल्नै नहुने कुराहरू सरासर गलत हुन । यस्ता कुराले स्वयम् महिलाहरूलाई नै सधँैभरी हारेर बस्नुपर्ने अवस्था ल्याउँछ ।