असार १९,
सल्यान । सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ । सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको सल्यान प्रहरीले जानकारी दिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा घरतलास गर्दा कुमाख गाउँपालिका–३ का छविलाल चलाउने, सोही ठाउँका मानबहादुर राना र शेरबहादुर पुनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको सल्यान जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरत विकले जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले एक नाल ब्यारेल, फलामका छर्रा, बारुद र केप पनि नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय, सल्यानमा बन्दुक भएको सूचना आएपछि प्रहरी निरीक्षक भानु शर्माको नेतृत्वमा प्रहरी टोली खोजतलास गर्न गएको थियो । पक्राउ परेकालाई हातहतियार खरखजानाअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो ।