इस्लाम धर्मालम्बीले आज इद मनाउदैं

190

असार २, काठमाडौं । इस्लाम धर्मालम्बी आज विहानैदेखि इदल–उल–फितर (इद) पर्व उत्साहका साथ मनाइरहेका छन् ।
मुसलमानले आज स्नान गरी नयाँ वस्त्र धारण गरेर नजिकको दरगाह वा मस्जिदमा भेला भएर सामूहिक रुपमा ‘विशेष नवाज’ पढेर पर्वको शुभारम्भ गरेका हुन् । विभिन्न इदगाह वा मस्जिदमा भेला भएर पक्तिबद्ध भई सामूहिक रुपमा नवाज पढेर उनीहरु इद मनाइरहेका देखिन्छन् । एकार्कालाई अँगालो मारेर ‘इद मुवारक’को आदानप्रदान गर्नाका साथै अग्रजसँग आशीर्वाद लिइरहेको देखिन्छ । यो पर्व लगातार तीन दिनसम्म मनाउने गरिन्छ ।

इस्लामी पात्रोको नवाँैं महिनाको अन्तिम दिन चन्द्रमा देखेपछि ३० दिनको रोजा अर्थात् उपवास सम्पन्न भएपछि यो पर्व मनाउने गरिन्छ । इस्लाम धर्मालम्बी यस पर्वलाई पवित्र पर्वका साथै भ्रातृत्वको भावना र प्रेममा अभिवृद्धि गर्ने पर्वका रुपमा लिन्छन् । यस पर्वका अवसरमा घरलाई सजाउनाका साथै सपरिवार नयाँ वस्त्र धारण गर्ने, विभिन्न परिकारका भोजन गर्ने खासगरी सेवई र खीर र मीठाइ खाने गरिन्छ ।