ट्रम्पले भने, ‘तिमीहरुले नै ह्वाइट हाउसमा आगो लगाएका होइनौ ? ’

146

जेठ २५,
बीबीसी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो अचम्मका बयानबाजीका कारण चर्चामा छाइरहन्छन् । उनले थुप्रै पटक यस्ता बयान दिएका छन् जुन सुनेर मानिसहरु कि त चकित हुन्छन् कि पेट मिचिमिची हाँस्छन् । हालै पुनः यस्तो घटना दोहोरिएको छ । खबरका अनुसार ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्डोलाई निकै अचम्मका प्रश्न सोधेका छन् । वास्तवमा गत हप्तामात्र अमेरिकाले युरोपेली युनियन, क्यानडा र मेक्सिकोबाट स्टिल र आल्मुनियम आयात गर्दा ट्यारिफ लगाउने निर्णय गरेका छन् ।ट्रम्पले अमेरिकाको सुरक्षालाई दृष्टिगत गर्दै यसो गरेको बताएका छन् ।

ट्रम्पको यस्तो तर्कले हैरान क्यानडाका प्रधानमन्त्री ट्रूडोले डोनल्ड ट्रम्पलाई फोन गरेर उनीहरुसँग व्यापार गर्दा अमेरिकाको राष्ट्रिय सुरक्षालाई कसरी खतरा हुनसक्छ भनी प्रश्न सोधे ? यसको जवाफमा ट्रम्पले भने, ‘तिमिहरुले नै ह्वाइट हाउसमा आगो लगाएका होइनौ ? ’ डोनल्ड ट्रम्पले ट्रूडोमाथि तेर्साएको प्रश्नले क्यानडासमेत संसारभरीका मानिसहरु चकित भए र सोसल मिडियामा यो कुरालाई हाँसोको रुपमा हेरिएको छ । यस्तो किनभने ह्वाइट हाउसलाई सन् १८१२ को युद्धका बेला आगो लगाइएको थियो । त्यतिबेला क्यानडा अस्तित्वमा थिएन । क्यानडाको स्थापना सन् १८६७ मा भएको हो । क्यानडा ब्रिटिश उपनिवेशबाट बनेको थियो ।सन् १८१२ को युद्ध ब्रिटेन र अमेरिकाबीच भएको थियो । यद्यपी, डोनल्ड ट्रम्पले ठट्टा गरेर यसो भनेका थिए वा उनी यसका लागि गम्भीर थिए भन्ने बारे अहिले स्पष्ट हुन सकेको छैन ।

तर उनको यो कुरालाई ट्वीटरमा धेरै मानिसहरुले खिल्ली उडाएका छन् । अमेरिकाका एक ट्वीटर प्रयोगकर्ताले भने, ‘हामीलाई यस्ता राष्ट्रपति भेट्न २ सय ६ वर्ष लाग्यो जसले क्यानडालाई ह्वाइट हाउस जलाउनका लागि जिम्मेवार देखाए ।’
सन् १८१२ को युद्धका बेला ब्रिटिश सेनाले सन् १८१४ मा ह्वाइट हाउसलाई आगो लगाएका थिए । अमेरिका र ब्रिटेनको यो युद्धका थुप्रै कारण थिए । वास्तवमा, त्यतिबेला ब्रिटेन अमेरिकी व्यापारी नाविकहरुलाई जबर्जस्ती रोयल नेवीमा भर्ना गरिरहेका थिए । यसका साथै उसले अमेरिकामाथि थुप्रै व्यापारिक प्रतिबन्ध पनि लगाएका थिए । ब्रिटेनको यी कदमका कारण उसको र अमेरिकाबीच तनाव भएको थियो ।