कविताः हेक्का राखे है बाबु

329

सुशिला पौडेल,

तिमी विजयी भयौ रे
आफैं गुमनाम भएर
आफैं बदनाम भएर
छदमनाम र छदम रुप
धारण गरेर
तिमीले थालेको महान क्रान्ति
सफल भयो रे
सफलताको उन्माद कसलाई हुन्न ररु
सुन्छु पुष्पमाला भरिएका छन् रे तिम्रा गलामा
अबिर जात्रा नै छ रे तिमी हिंड्ने बाटोमा
समाचारले भन्छ अचेल तिमी देश हाक्ने भाको छौ रे
छिमेकीले भन्छन् तपाईंको छोरा ठुलो मान्छे बन्यो रे ।

आजै जस्तो लाग्छ यी हातले तेरा लागी भोटो तगेको
चोरी औंलो समाउन दिदै आऊ बाबा आऊ भनेको
कन्दनीमा कौडा बाँधेर राखेको
सिरानमा कर्द हालेर जोगाएको
कतै हिंड्नेबेला हातमा थु थु गर्दै सातो बोलाएको
देउथान ,तीर्थस्थल सबैतिर तेरै
खुसी र दीर्घ जीवन मागेको
अहो१समयले कति पछाडि छोडिसकेछ
कतै चाँडै तँ त ठुलो भै सकिछस ।

बिताइस होला तैंले पनि भोकभोकै कति रात
छुटाइ सबै आफ्ना र आफन्तको साथ
तर क्रान्ति विगुल फुकेकै बेला
कैयनका चुलो निभे बाबु, कतिका बास उठे
छामेर हेर त आफ्नो गर्दनमा भएको माला
त्यो कोमल फूल भित्र कतिका चित्कार होलान्
चुरा फुटेको र उजाडिएको सिउँदोको रंग होला
एक्लिएको काखको आर्तनाद होला
पिल्सिएका र जिउँदै मरेका जवानहरूको पुकार होला
तैंले यी सबै कुरा सुन्नै पर्छ बाबु
हेल्चेक्र्याइँ नगरी बुझ्नै पर्छ बाबु ।

बुझिस अब तँ जस्तै छोराहरुले
बारुद बोक्न नपरोस्
फुलको मालामा एकताको सुवास चलोस
मन्दिरमा घन्ट बजून, गुम्बामा ॐ मानेपेमे हुँ गुन्जियोस
अल्लाह भनून या फादर
पारुहाङ जपून या सुम्निमा
तर मान्छे मान्छे भएर बाँच्न पाऊन
एउटै सिङ्गो नेपाली भूमिमा ।

गहिरिएर हेर आफ्नो गलाको पुष्पहार बाबु
अब त्यसबाट अनेकतामा एकताको रङ भर्नु पर्छ
मलाई मेरो सिङ्गो अखण्ड नेपाल चाहिन्छ बाबु
मैले त्यसमै सगरमाथाको टोपी लगाइ हाँस्न पाउनु पर्छ
पहाडको गुन्यु बनाइ तराईको मजेत्रो ओढ्न पाउनु पर्छ
त्यो क्रान्तिमा उडेको शान्ति समेटेर सुशासन
सभ्य र अखण्ड मातृभूमि दिनुपर्छ ।

होइन भने बाबु तँ जितेर पनि हार्छस
तेरो गलामा सुहाउँदैन त्यो फूलमाला
तेरो निधारमा सुहाउँदैन त्यो विजय टीका
धिक्कार्ने छन् तँलाई खाली सिउँदोहरुले
रित्तिएका काखहरुले ,अङ्ग भङ्ग भएका साथहरुले
अबोध र टुहुरा भएका मनहरुले
त्यसैले विचार पुर्यायस है बाबु
हेक्का राखेस है बाबु
यो देशमा फेरि क्रान्ति नहोस्
फेरि रगतको होली नहोस्
काख नरित्तियून,साथ नसिद्धियून
हेक्का राखेस है बाबु हेक्का ।