जेठ १८,
काठमाडौं । साउन ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पण्डित बाजेको लौरी’को गीत रिलिज गरिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले फिल्ममा समावेश चोली तुना बोलको गीत रिलिज गरेको हो। सार्वजनिक उक्त गीतमा श्रीकृष्ण मल्लको संगीत रहेको छ। गीतमा कृष्ण केसीको शब्द रहेको छ भने संगीतकार मल्ल र मीना निरौलाको स्वर रहेको छ। विक्रम स्वाँरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा सन्ध्या केसी र प्रमोद अग्रहरिको नृत्य देख्न सकिन्छ। भिडियोमा फिल्मका अन्य मुख्य कलाकारहरू पनि फिचरिङ छन्। भिडियोमा एक विवाहको मण्डप पनि देखाइएको छ। विवाहमा गरिएको नृत्यलाई भिडियोमा प्रस्तुत गरिएको छ। दीपक ओली निर्देशित फिल्म पण्डित बाजेको लौरीले पण्डित्याइँ गर्ने पण्डितहरूको कथा प्रस्तुत गर्नेछ। वादी जातिकी महिला र ब्राह्मण जातिको पण्डितबीचको सम्बन्धलाई प्रस्तुत गरिएको यस फिल्ममा मरिष्का पोखरेल, भोलाराज सापकोटा, प्रवीण खतिवडा, विजय बराल, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारीलगायतले पनि अभिनय गरेका छन्। महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’का निर्माता थमनकुमार भण्डारी हुन् भने सहनिर्माता किशोर खड्का हुन्। विदुर पाण्डेको छायांकन रहेको चलचित्रको सम्पादन मित्र डी गुरुङले गरिरहेका छन्।