बैशाख २४,
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग बेलायती संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आइतबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ। नेपालको संघीय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको बेलायती संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गरेका छन्। भेटमा ऊर्जामन्त्री पुनले बेलायत नेपालको पुरानो विकास साझेदार मुलुक रहेको भन्दै आगामी दिनमा पनि दुवै देशको बीचमा सुमधुर सम्बन्ध रहने विश्वास व्यक्त गरे। उनले बेलायतले नेपालको शिक्षा, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा गरेको सहयोग निकै महत्त्वपूर्ण रहेको समेत बताए। बेलायती संसदीय प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पुनले ऊर्जा, जलस्रोत र सिँचाइको क्षेत्रमा समेत सहकार्य गर्न सरकार तयार रहेको धारणा राखेका थिए। भेटमा मन्त्री पुनले ऊर्जा मन्त्रालयको १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने योजना रहेको भन्दै त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग आवश्यक रहने बताए। ‘अहिले हामीसँग एक हजार मेगावाट मात्र बिजुली उत्पादन हुन्छ तर हामीसँग एक लाख मेगावाट उत्पादन गर्ने क्षमता छ’, उनले भने, ‘१० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्नका लागि हामीलाई निजी क्षेत्र तथा विदेशी लगानीकर्ता आवश्यक हुन्छ।’ उनले नेपालमा लगानीको वातावरण रहेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न पनि आग्रह गरेका थिए। भेटमा बेलायती सांसदहरूले नेपालको ऊर्जा, सौर्य ऊर्जा र जलस्रोतको क्षेत्रमा सरकारको नीति र योजनाबारे चासो राखेका थिए। बेलायती सांसद निजेल इभान्सले नेपालको विकासमा बेलायत सहयोग गर्न तयार रहेको धारणा राखेका थिए। उनले बेलायत युरोपियन युनियनबाट अलग भएपछि यस्ता खालका द्विपक्षीय भ्रमण अझै बढ्ने र त्यसले दुई देशको सम्बन्ध अझै मजबुत बन्ने धारणा राखे। भेटमा बेलायती सांसदहरूले नेपालमा बिजुलीको अवस्था, जलविद्युतले वातावरणमा पारेको असर र त्यसको रोकथामका लागि सरकारले अघि सारेका कदमहरूका बारेमा समेत चासो राखेका थिए। भ्रमण दलमा बेलायती सांसदहरू डेभिड मोरिस, वीरेन्द्र शर्मा, केरी मेकर्थी, लोर्ड बाल्फे र लोर्ड ढोलकिया रहेका छन्।