बैशाख २२,
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ । उनको घरमा रहेको सीसी क्यामराको दृश्य हेर्दा राति दुई जनाको समूहमा आएका व्यक्तिले घरको मूल ढोका तोडफोड गरी त्यसको माथिको दुई तलासम्मको ढोकाहरु तोडफोड गरेर फरार भएको देखिएको छ । गएको ८ गते शनिवार उहाँकै घरमा केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएका श्रेष्ठको घरमा शनिबार राति तोडफोड गरिएको हो । नेपाल कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएको नगर प्रमुख श्रेष्ठले आफ्नो घरमा तोडफोड भयो भन्ने सुनेको र आक्रमण भएको १६ दिन भइसक्दा पनि आक्रमणकारी पक्राउ नभएको भन्दै गुनासो गरेका छन् । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले मेयरमाथिको आक्रमणसँग तोडफोडको घट्ना जोडिएको नपाइएको बताएका छन् । तोडफोड गर्ने नियतभन्दा पनि चोरी गर्ने नियतले आएको हुनसक्ने उनको अनुमान छ । नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको विरोधमा संघर्ष गर्ने गरी मध्यपुर थिमि नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणविरुद्ध १५१ सदस्य रहेको सामूहिक नेतृत्व संघर्ष समिति गठन गरेको छ ।