नयाँ वर्ष २०७५ साललाई यसरी स्वागत गरौं

486

चैत ३०,
नयाँ नेपाल न्युज
काठमाडौं । नेपालीले सदियौँदेखि विक्रम संवतको नयाँ वर्षलाई आफ्नो नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । त्यसैले सरकारले पनि वैशाख १ गते सार्वजनिक विदा दिने गरेको छ । यस पटकको नयाँ वर्ष–२०७५ को पहिलो दिन वैशाख १ गते शनिकार परेको छ । खासगरी अधिकांश नेपाली परम्परागत रुपमै नयाँ वर्षलाई स्वागत गर्छन् । कतिपय ग्रामिण क्षेत्रमा नयाँ वर्षलाई खासै फरक किसिमले मनाउने परम्परा नै सुरु भएको छैन यद्यपि नयाँ वर्ष भनेर रमाइलो भने मान्ने गरेको पाइन्छ । विदेशी नयाँ वर्ष खासगरी इस्वी संवत्को अहिले विश्वभर प्रयोग हुन्छ र नेपालमा पनि यस्तो सन् को नयाँ वर्षलाई महत्वका साथ मनाउने गरिएको छ । तर सदियौँदेखि हाम्रा पुर्खाले मनाउँदै आएको नयाँ वर्षलाई किन नमनाउने त रु

खाना खान रेष्टुरेन्ट

काठमाडौं लगायतका सहरमा बाहिर खाना खाने परम्परा नयाँ वर्षमा मात्र होइन अघिपछि पनि लागु हुन्छ । विदाका दिन घुम्न जाने, बाहिरै खाना खाने परम्परा छ, यसले आराम पनि हुने र स्वाद पनि फेरिने दोहोरो फाइदा । यस्ता विशेष दिनलाई लक्षित गरेर ठूला सहरमा विभिन्न कार्यक्रम नै आयोजना हुने गरेका छन् जसमा रेष्टुरेन्टमा खानासहित रमाइलो गर्ने प्याकेजसहितका अफरहरु आउन थालेका छन् । ती अफरहरुमा आफूलाई पायक पर्ने छनोट गरेर परिवारसहित रमाइलो गर्न जान सकिन्छ । काठमाडौंलगायतका सहरमा यस्तो सुविधा पाइन्छ । तपाईलाई सजिलोको लागि ३लभध थभबच द्दण्ठद्ध टाइप गरेर फेसबुकमा सर्च गर्नुहोस् । गुगल सर्च पनि गर्न सक्नु हुन्छ, अफरहरु हेर्न र सदुपयोग गर्न सक्नु हुन्छ ।

घुमेर रमाऔँ

यसपटकको नयाँ वर्षको भोलिपल्ट अर्थात् वैशाख २ गते शनिबार छ, अर्थात् विदा । त्यसैले नयाँ वर्षमा एक रात बास बस्नेगरी घुम्न जान सकिन्छ । काठमाडौंमा रहनेका लागि घुम्नका लागि विभिन्न रमाइला स्थानहरु नजिकै छन् भने काठमाडौं बारिका लागि आफ्नो अनुकुलतामा पाएक पर्ने ठाउँमा बास बस्ने गरी जाने बिहान रमाइलो गर्दै फर्किने गर्न सकिन्छ । काठमाडौं हुनेहरु धुलिखेल, नगरकोट, ककनी, सुन्दरीजल, चन्द्रागिरिलगायतका ठाउँमा बास बस्ने गरी घुम्न जान सक्छन् । यी गन्तव्यहरुमा रहेका होटेल अनलाईनमार्फत खोज्न र बुकिङ गर्न सकिन्छ भने कतिपय ठाउँमा होमस्टे पनि छन् जहाँ खान बस्न सहज र सस्तो हुने गर्दछ । केही टाढा जान चाहनेका लागि, कुरिनटार, कुलेखानी, दामन पनि उपयुक्त गन्तव्य बन्न सक्छन् ।

घरमै रमाइलो गर्न सकिन्छ

परिवारसहित बाहिर जान अप्ठेरो हुने अथवा ठूलो परिवार हुनेले घरमै रमाइलो गर्न सकिन्छ । दैनिक प्रयोग गर्ने भन्दा केही भिन्न हिसाबले खानाका परिकार बनाएर, नयाँ वर्षको केक काटेर, मासु खाने परिवारले लोकल कुखुरा वा अस्ट्रिजको मासु खाएर, गर्मी मौसम सुरु भएकाले, कोल्ड ड्रिंग्स, सफ्ट तथा रुचीअनुसार हार्ड ड्रिंक्सहरु गरेर रमाइलो गर्न सकिन्छ ।

खुसी साट्न सामान्य किनमेल

नयाँ वर्ष साधारणतया धेरैको किनमेलको समय होइन । अत्यावश्यक वस्तुबाहेक चाडपर्वका रुपमा नयाँ वर्षमा किनमेल गरेको पाईँदैन । तर खुसी साट्न सामान्य किनमेल गर्न सकिन्छ । यो मौसममा गर्ने किनमेल कम खर्चिलो पनि हुने गर्छ । गर्मी समय भएकाले सामान्यतया कम मुल्यका लत्ताकपडा किनेर खुसी साट्न सकिन्छ । जुन आत्मीय पनि बन्छ र खर्च पनि धेरै हुँदैन । नयाँ वर्षको बाहना पनि बन्छ ।