महिला र बालबालिका हराउने क्रममा बृद्धि

222

चैत २९,
नवलपरासी । नवलपरासीबाट महिला र बालबालिका हराउने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो जिल्लाबाट २२१ महिला र बालबालिका हराएका छन् । तीमध्ये १४९ महिला र बालबालिका अज्ञात छन् । बालकको अनुपातमा महिला र बालिका हराउनेको संख्या बढ्दो रहेको एक तथ्याँकले देखाएको छ । महिला सशक्तीकरण, बालबालिका बेचविखनविरुद्ध कार्यक्रमले जिल्लामा प्राथमिकता पाउँदासमेत यस्ता घटनाहरुमा भने कमी आउन सकेको छैन । यसले स्थानीय प्रशासन र महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थालाई चुनौती थपेको छ । गत आर्थिक वर्षमा १२८ महिला, ११ बालक र ३९ बालिका हराएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला सेलले जनाएको छ । तीमध्ये हालसम्म ७३ महिला, ९ बालक र २९ बालिका फेला परेका छन् । गत वर्ष सबैभन्दा बढि चैत महिनामा १८ महिला हराएका थिए भने तीमध्ये १५ जना फेला परेका थिए । यस्तै असोज र कात्तिकमा ६ बालिका हराएकोमा हालसम्म एक जना पनि फेला परेका छैनन् भने कात्तिकमा दुई बालक हराएकोमा अझै उनीहरुको अवस्था थाहा नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको तथ्यांकमा उल्लेख छ । यस्तै चालु आर्थिक वर्षको माघसम्म ४८ जना महिला तथा बालबालिका हराएको उजुरी परेको छ । तीमध्ये ३१ महिला, ६ बालक र ११ बालिका रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । तीमध्ये ९ महिला र एक बालिका अझै अज्ञात रहेको बताइएको छ । हराएको सूचीमा सबैभन्दा बढी महिला, बालिका र बालक रहेका छन् । हराएको भनिनेमध्ये अधिकांश महिला र बालिका भागी विवाह गर्ने र अधिकांश बालक परिवारबाट पीडित भएको भन्दै आफूखुशी घर छाड्ने गरेको बताइएको छ ।