कथाः मोहिनी

290

रमेश गिरी “आशा”
“हैन ए, कान्छी, त्यो मोहिनी त के सारो भाकी हैे, लौ हेर त, कसैलाई नआ’को बैंश त्यसलाई यो बुढेसकालमा आको ।” कल्पनाको कुरा सुनेर कान्छीले कुरा थपि हाली–“अँ भन्या, अहिले त घर मै आउँन थाल्यो रे त, राती पनि घर मै बस्छ रे भन्ने गाईगुई पो सुनिन्छ त ।” आधुनिकताले भरिएको स्वार्थपूर्ण यो सहरमा वल्लो घरमा घटेको घट्ना पल्लो घरले चासो नदिने बेलामा कान्छी र कल्पनालाई भने छिमेकीको कुरा काट्दैमा फुर्सद थिएन । उनीहरु छिमेकीको अलि बढी नै चासो लिन्थे । नराम्रो कुरा काटी हाल्ने उनीहरुको बानी थियो । त्यसमाथि पनि यताको कुरा उता र उताको कुरा यता लैजाने उनीहरुको प्रबृत्ति भएका कारण छिमेकीले एउटीलाई हुलाकी र अर्कीलाई नारदनीको संज्ञा दिएका थिए । माधवी सबै भएर पनि एक्लो थिई । जीवन भर साथ दिने बाचा गरेको लोग्नेले छाडेर गएको पनि १८ वर्ष भईसकेको थियो । लोग्नेसंग बिताएका पल उनका लागि अधकल्चो सम्झना भएर जीवनमा अड्किएको थियो । विदेशमा सामान आयात निर्यात गर्ने व्यापारी श्रीमान्ले प्रशस्त सम्पत्ति कमाएका थिए । काठमाण्डौमा राजा साहेब भएर बसेका उनको दुर्घटनामा मृत्यु भएपछि बाकसमा लाश घरमा आईपुगेको थियो । पशुपति आर्यघाटमा लोग्नेको दाह संस्कार गर्दा जेठी छोरी प्लस टु पढ्दै थिई, छोरा एसएलसी दिदै थियो । चित्तामा लोग्नेलाई खरानी बनाएर फर्के पछि सम्झनामा बाच्दै आएकी मोहिनीको खुसी त्यसै दिनदेखि खोसिएको थियो । लाग्नेले धन सम्पत्ति त प्रशस्तै छाडेर गयो तर खुसी छाड्न सकेन । धन सम्पत्तिसंगै अथाहा, याद, आँसु छाडेर गए । छोराछोरीको जिम्मेवारी सम्हाल्दै मोहिनीले जीवनसंग सम्झौता गर्दै अगाडि बढ्दै गई । श्रीमान्ले छाडेको चार वर्षमा छोरी अष्ट्रेलिया गई भने ६ वर्ष पछि छोरा अमेरिका गयो । जीवनको साहारा ढलेपछि भएका आँखाका दुई नानी जस्तै बनेका दुई छोराछोरी पनि विदेशिय पछि भने जिन्दगी मोहिनीका लागि निकै लामो लाग्न थाल्यो । बिहान भए दिन कहिल्य बित्ला र साँझ परे रात कहिल्य बित्ला भन्दै जीवनलाई घिसार्दै थिई्न उनी । बैंशमा लोग्ने स्वास्नीको साथ जति आवश्यक छ, त्यो भन्दा बढी बुढेसकालमा आवश्यक पर्छ भन्ने यथाथृलाई भोगिरहेकी थिई मोहिनीले । दोहोरो कुरा गर्ने साथी समेत नहुँदा, मनमा लागेको कुरा भन्ने मान्छे नहुँदा लोग्नेको याद आउँने मात्रै होईन, छोराछोरीले पनि साथ छाडिदिदाँ जीवन नै रित्तिए झै भएको थियो उनको । विहान परिवारै भएर ब्याडमिन्टन खेल्ने आँगनमा घाँस उमिएका थिए, ढुङ्गामा काई पर्न थालेको थियो । घरको गेट नजिकै पालेका दुई ठूला कुकुरहरु पनि सायद नियास्रिएछन् होला, भुक्न छाडिसकेका थिए । परिवारसम्म काँधसम्म उफ्रिएर खेल्ने कुकुरहरु मोहिनीको अगाडि पुच्छर हल्लाउन पनि गाह्रो मान्न थालिसकेका थिए । कुकुरहरुलाई समेत घरमा उत्साह थिएन । बंगला भूत बंगला जस्तै बनेको थियो । काम गर्ने महिला आएर अलिअलि घर सफा गरिदिए जस्तो गरेर फर्कनै हतारो गर्न थालेकाले घर पनि मैलिदै गएको थियो । खाना बनाउँछे भान्छेले पनि हतारमा खाना बनाउने गर्दा खानाको स्वाद नै हराई सकेको थियो । कहिले त ढिला आईदिनाले खान समेत समयमा नपाउने भईसकेकी थिई मोहिनीले ।

एक जना राम्रो कुरा गर्ने साथी मात्रै भईदिएको भए, रातमा घरमा दोहोरो कुरा गर्ने परिवारको उकजना सदस्य मात्रै भईदिएको भए पनि त हुन्थ्यो भन्ने उनलाई लाग्नु स्वभाविकै थियो । तर कोही थिएन । मंहगा घरका सामानसंग कुरा गर्न मिलेन, बंगला र रित्तो कोठाहरुसंग रमाउन मिलेन । हातमा आईप्याड समातेर छोराछोरीसंग कहिले काही कुरा गर्ने र यू ट्युबमा सर्च गरेर बिभिन्न धार्मिक च्यानलका प्रवचन सुन्ने र भित्तामा टासेको ५२ ईन्चको टिभि हेरेर सधै दिन बिताउन पनि त कठिन नै हुन्छ ।
उनलाई बजार जान, सिनेमा हलमा जान र आफन्तमा जान समेत मन मरेर आईसकेको थियो । कहिल्य काही त लाग्थ्यो, लोग्नेलाई सुताएर दागबत्ति दिएको चितामा सुत्ने आफ्नो पालो कहिल्य आउँला ? एक्लै भएपछि मनमा पनि अनेकौ कुराहरु खेल्ने र निरोगी शरीर पनि रोगी हुन थालिसकेको थियो ।
त्यसो त एक पटक अष्ट्रेलिया गएर छोरीको परिवारसंग तीन महिना बसेरै आएकी हुन् । असल ज्वाई र नातिनीसंग रमाएरै आएकी हुन् । तर अष्ट्रेलियामा सधै बस्ने परिस्थिति पनि मिलेन । अमेरिका पनि तीन महिना बसेरै आएकी हुन् । छोरीले अष्ट्रेलिया मै बिहे गरे पनि छोराको बिहे नेपाल मै गराएकी थिईन् उनले । तर छोरा बुहारी एक महिना पनि नबसी अमेरिका हानिए । त्यसपछि अमेरिका जादा पनि उनलाई दिन कटाउन निकै गाह्रो भयो । छोरा बुहारी सधै व्यबस्थ आफू सधै एक्लो त्यसैले त फर्किएर फेरी नेपाल नै आएकी थिईन् उनी ।
अष्ट्रेलियामा छोरीकोमा जादा उनको चिनजान अरुण राणासंग भएको थियो । अरुण उमेरले ६० वर्ष पुगेका थिए । ऊ पनि एक्लै थियो । अष्ट्रेलिया मै बिवाह गरेकी श्रीमतिले डिभोर्स गरेपछि ऊ पनि एक्लो भएको थियो । अष्ट्रेलियामा बसेको ३५ वर्ष भईसकेको अरुणसंग सम्पत्ति थियो तर ऊ संग पनि संगै बसेर दुईचार कुरा गर्ने साथी थिएन । मोहिनी अष्ट्रेलियाबाट फर्किए पछि बेलाबेलामा त्यही अरुणसंग फोनमा कुरा गर्ने, बेला बेलामा फेसबुकमा च्याटमा गफ गर्न थालेकि थिई ।
सात समूद्र पारी बसेको मोहिनी र अरुणलाई फेसबुकले निकै नजिक ल्याईदिएको थियो । फेसबुक मै यी दुईले आफ्ना कुराहरु शेयर गर्ने, गफ गर्ने गर्दै गर्दा दुबैमा नजानिदो रुपमा माया झागिंयो । मोहिनीलाई एक दिन मौ पनि अरुणस.ग फेसबुकमा कुरा गर्न नपाए निन्द्रा नलाग्ने भईसकेको थियो । अरुणसंगको निकटताले उनको थाकेका शरीरहरुमा बिस्तारै उर्जा आउन थालेको थियो, उनी फुर्तिलो हुन थालेकी थिईन् । आफ्ना कुराहरु अरुणलाई फोन, स्क्याईप, ईमो, भाईबर, म्यासेन्जर मार्फत राख्न पाउँदा उनले आफ्नो सबै दुखलाई भुलाउँदै गएकी थिईन् । आफ्नो ५७ वर्षको उमेर पनि भर्खरको जस्तो लाग्न थालेको थियो । आफ्नो एक्लोपनलाई उनले भुल्दै गएकी थिईन् । घरमा काम गर्ने आयासंग बेलाबेलामा आफै बजार जाने, सिनेमा हेर्न जाने गर्न थालेकी थिईन् । उनमा उर्जा थपिएको र परिवर्तित रुप देखेर आयामात्रै होईन, छिमेकी पनि छक्क परेका थिए ।
अरुणले एक्लोपनलाई हटाउन असर साथी बन्ने प्रस्ताव गरेको थियो । उनीहरु बिच एक अर्कामा माया पलाउँदै गएपछि जीवनको उत्तरार्दमा एक्लै बस्न नसकिने भएकाले सबै कुरा राख्न सक्ने एउटा साथी चाहिन्छ भन्ने दुबैले महसुस गरिसकेका थिए । मोहिनीको छोराछोरीले यसअघि पनि बेलाबेलामा आमाले अब बुबालाई बिर्सनु पर्छ । हामीले सधै साथ दिन सकेनौ, तपाईलाई मन पर्ने कोही छ भने भन्नुस् है भन्थे । छोराछोरीले त्यसो भन्दा दिक्क लाग्ने उनलाई त्यो कुरा सही हो भने जस्तो लाग्न थालेको थियो ।

एउटै ओछ्यानमा सुत्न, शारीरिक संसर्ग पुरा गर्न, सन्तान जन्माउन मात्रै बिबाह गर्ने होईन, जीवनमा आईपर्ने धेरै मोड र उकाली ओरालीमा एकले अर्काको हात समातेर पार गर्न सकियोस भनेर बिवाहको बन्धन बाधिएको हो । त्यसलाई यौनसंग मात्रै जोडेर हेर्न हुदैन भन्ने मोहिनी र अरुणलाई परेको थियो । यी दुबै एकअर्कामा उनीहरुको रुप देखेर आकर्षित भएका थिएनन्, नजिकिएका थिएनन् । उनीहरुको आवश्यकता एउटै सिरक भित्र गुटमुटिनु पनि थिएन । न त शारीरिक आकर्षन नै थियो । न त शारीरिक सम्पर्कको चाहना नै थियो । उनीहरु बिच थियो त केबल भावनात्मक सम्बन्ध । भावनात्मक माया, भावनात्मक प्रेम ।

एउटै ओछ्यानमा सुत्न, शारीरिक संसर्ग पुरा गर्न, सन्तान जन्माउन मात्रै बिबाह गर्ने होईन, जीवनमा आईपर्ने धेरै मोड र उकाली ओरालीमा एकले अर्काको हात समातेर पार गर्न सकियोस भनेर बिवाहको बन्धन बाधिएको हो । त्यसलाई यौनसंग मात्रै जोडेर हेर्न हुदैन भन्ने मोहिनी र अरुणलाई परेको थियो । यी दुबै एकअर्कामा उनीहरुको रुप देखेर आकर्षित भएका थिएनन्, नजिकिएका थिएनन् । उनीहरुको आवश्यकता एउटै सिरक भित्र गुटमुटिनु पनि थिएन । न त शारीरिक आकर्षन नै थियो । न त शारीरिक सम्पर्कको चाहना नै थियो । उनीहरु बिच थियो त केबल भावनात्मक सम्बन्ध । भावनात्मक माया, भावनात्मक प्रेम । त्यसभित्र अरु कुनै स्वार्थ थिएन, कपट थिएन, यो समाजले उनीहरु बिचको सफा सम्बन्धलाई बुझ्नै सकेन, त्यसैले त फोहोरको छिट्टाहरु फाल्न थालेका थिए, कान्छी र कल्पना जस्ताले । गाउँ भरी हल्ला भयो, “बुढेसकालमा मोहिनीलाई बैंश आएर । एउटा भुसतिघ्रेलाई घर मै ल्याएर पालिकिछे । छि लोग्ने मरे पछि यो बुढेसकालमा कस्तो रास लिला हो त्यो मोहिनीको, हैन भन्या यो समाज नै गन्हाउने गरि कसरी ल्याएर घर मै राख्न सकेकी हो त्यसले, लाज नभए पछि जे गरे पनि त भयो नी ।”–उनीहरुको दुई पवित्र र सफा सम्बन्धमा समाजले फोहोरको छिट्टा हाल्न थालेपछि विस्तारै मोहिनीलाई घरबाट निस्कन पनि गाह्रो हुन थाल्यो ।

नेपाल आएको बेलामा १० दिन जति मोहिनीको घरमा आयो अरुण । बिहान मोहीनीको मै खाना खान्थ्यो, दिनभरी दुबै बाहिर घुम्न जान्थे, नेपालको धेरै ठाउँ यी दुईले धेरै पछि घुमेका थिए । रात नपर्दै अरुण फर्किएर आफ्न्तकोमा जान्थ्यो । यतै बसौ न त भन्न सकेकी थिईन मोहिनीले समाजको डरले । तर समाजले उनलाई कहाँ बाँकी राख्यो र । अरुण नेपाल आएर फर्केको महिना दिन बित्न लाग्दा पनि मोहिनीका बिरुद्ध निकै चर्चा चलाए । अरुणले जाने बेलामा बिवाहको प्रस्ताव राखेकै हो तर मोहिनीले मानेकी थिईनन् । उनी समाज र परम्परालाई लत्याएर बुढेसकालमा विवाह गर्न चाहदैनथिन् । उनलाई पुरुषको आवश्यकता थिएन, नत पुरुषको कुनै चाह नै । नत पुरषसंगको संसर्गको कल्पना नै थियो । शरीर सुम्पेको लाग्नेलाई जलाएकाले अब यो शरीर अरुलाई सुम्पने कुनै चाह उनमा थिएन । लोग्ने मरे पछिको बैंशमा त उनले शरीरलाई नियन्त्रणमा राखिन् भने अब बुढेसकालमा के को पुरुषको आवश्यकता थियो र उनलाई । आवश्यकता थियो त साथीको मनको कुरा भन्ने एक्लो पललाई भुलाउने साथी चाहिएको थियो तर समाजले त्यसलाई पनि स्वीकार गर्नेए अनुमति दिएन ।
छोराछोरीलाई अरुणले सबै कुरा भनिसकेको थियो । आमाको अबस्थाबारे जानकारी पाएपछि छोराछोरी दुबैले अरुणसंग आमाको बिवाह गराइएदिने निधो गरे । छोरीले प्रस्ताव गरिन् तर उनको मनले मानेन । धेरै सोचिन् उनले । मनमा धेरै द्धन्द्ध चल्यो । अन्तमा वास्तविकतालाई स्वीकार्ने अठोट गरिन् । अरुणस.ग विवाह गरेर बुढेसकालमा सुखदुख बाड्ने निर्णय उनले गरिन् । त्यसैले तीन साता पछि उनी अष्ट्रेलिया छोरीकोमा जाने भईन् । अमेरिकाबाट छोरा पनि त्यतै आउँने भयो । त्यही दुबैको विवाह गर्ने कुरा परिवारमा पक्का भयो । समाजले जति नै लान्छना लगाए पनि उनले निर्णय लिएकाले अष्ट्रेलिया उड्ने प्रतिक्षामा थिईन् उनी ।
आफन्तकोमा भोज थियो । निम्तो आएकाले जानु पर्ने मोहिनीको बाध्यता नै थियो । चाँडबाड र भोजमा आफन्तकोमा नजादा पनि नराम्रो भईने । त्यसमाथि पनि तीन साता पछि अष्ट्रेलिया जाने भएपछि आफन्तस.ग अन्तिम भेट पनि हुन्छ भन्ने उनलाई लाग्यो । तर भोजमा उनी पुग्दा पुजा पाठका भन्दा उनको चर्चा बढी चुलिएको रहेछ । आफन्तले उनका बारेमा नाना तरहका अफवाहहरु फैलाएछन् । उनलाई आफन्तले अनेकौ प्रश्न तेर्साए । त्यसमाथि पनि आफ्नै छिमेकीले श्रीमान्लाई चितामा खरानी बनाएर बुढेसकालमा बलियो पुरुष चाहिने के भाको भनेर प्रश्न गरेपछि पुजामा उनी बस्नै सकिनन् । खुसी बोकेर भोजमा गएकी मोहिनी भोज नै नखाई आँसु बोकेर फर्कि ।
साँझ घरमा आएर आफुले लोग्नेसंग बिताएका पलहरु सम्झि र दराजमा राखेको फोटोको एल्बम खोलेर हेरी । उनको जीवनको खाटो बसिसकेको घाऊँ आलो भएर आयो । सम्झना र पीडाले अचानक मुटु हान्यो । लोग्नेसंग बिताएका पलहरुको एल्बम छाती मै टासियो, उनी पलङ्ग मै ढलिन् । उनको लोग्नेको हासँेको अनुहार आँखामा झलल बल्यो, छोरा छोरी नाचेको, खुसी भएको पलहरु आँखा वरिपरि नाच्दै थियो, उनले सधैका लागि आँखा चिम्लिईन् ।
भोली पल्ट त्यही समाज मोहिनीको घरमा आयो । अघिले दिनसम्म अनेकौ लाञ्छना लाउँने त्यही समाजका मान्छेहरु बिचरी, सधै एक्ेल्े बसेर दुखै दुखमा जीवन बिताई है भन्दै थिए । समाजले राम्रा नराम्रा कुरा काटिरहदाँ त्यही समाजले उनको ज्यान लियो भन्ने महसुस कसैले गरेन । भोजमा उनीमाथि लान्छनाको ओईरो नलागको भए, एक्लै बाच्दाको पीडालाई बुझेर हौसला प्रदान गरेको भए मोहिनी आज पनि सबैका अगाडि साँसरै बसेकी हुन्थी, त समाजले उनको ज्यान अनाहकमा लियो भन्ने महसुस कान्छी, कल्पना जस्ताले गर्न सकेनन्. ।
विदेशबाट छोराछोरी पनि आउईपगे । उनीहरुले आमा माथि समाजले लगाएको लान्छनाकाबारेमा आमाबाटै सबै थाहा पाईसकेका थिए । त्यसैले छिमेकी र आफन्तको कुनै पर्वाह नगरी आमालाई आर्यघाट पुर्याए । बाबुलाई सुताएकै चितामा आमालाई सुताए पछि छोराछोरी नै भक्कानिए । आखिर पैसा र धन सम्पत्ति कै लागि आमालाई एक्लै छाडेर विदेशिदा आमाले भोग्नु परेको पीडाको बल्ल महुस भयो उनीहरुलाई । तर ढिलो भएको महसुसको कुनै उपलब्धी थिएन । नेपाल मै आमासंगै बसेका भए आमा जति दिन बाच्थिन् आफ्ना सन्तानसंग रमाएर, खुसी भएर बाच्थिन् भन्ने लाग्यो । लोग्ने मरेको दिनदेखि बाचेर पनि मरेकी मोहिनीको लाश चितामा सुताएपछि अरुण पनि आईपुग्यो । मोहिनीको मुत्युको खबरले नेपाल फर्किएको अरुणले उनको शव माथि गुलावको फूल राखेर दुई थोपा आँसुले श्रद्धाञ्जली अर्पन गर्यो । छोराले दागबत्ति दिएसंगै केही घण्टा मै मोहिनीको शरीर खरानी भयो । हिजोसम्म फोन मै पनि आमा भन्दै आएका छोराछोरीका लागि त्यही आमा पनि खरानी भईसकेकी थिईन् । एक्लो जीवनमा अन्तिम क्षणसम्म संगै बाच्ने अरुणको आशा पनि मोहिनीसंगै जलेर गयो, ऊ फेरी एक्लो भयो, नितान्त एक्लो ।

गिरी भक्तपुरमा रहेर साहित्य तथा पत्रकारिता लामो समयदेखि सक्रिय हुनुहुन्छ ।