गोठमै सुत्केरी हुनुपर्ने बाध्यता

204

चैत १९,
जाजरकोट । नलगाड नगरपालिका–८ की विष्णु खत्री ०४४ सालमा भैंसी गोठमा बच्चा जन्माएकी थिइन्। पाँच सन्तानको जन्म गोठमा असुरक्षित रुपमै दिएको उनले बताइन्। विष्णु पहिलो पटक सुत्केरी भएको करिब ३० वर्ष बितिसकेको छ। यतिका लामो समय बिते पनि उक्त गाउँमा सुत्केरी गराउने तरिकामा भने परिवर्तन आउन सकेको छैन। विष्णुकी बुहारी कैशी खत्रीले पनि सासुआमाजस्तै असुरक्षित सुत्केरी हुन बाध्यता रहेको बताइन्। श्रीमान् रामवहादुर खत्री र छोरा रबिन खत्री रोजगारीका लागि भारत भएका कारण चार घण्टाको दूरीमा रहेको स्वास्थ्य संस्था जान नसकेको उनले बताइन्। यस गाउँमा महिलाहरु कैशीजस्तै असुरक्षितरुपमा सुत्केरी हुन बाध्य छन्। स्वास्थ्य संस्था टाढा रहेको र सडक सञ्जाल गाउँसम्म नजोडिएकाले असुरक्षित प्रसूति गर्न बाध्य भएको स्थानीयको गुनासो छ ।