जाजरकोट अस्पताल किन बन्दै छ बेहाल

266

चैत १८,
जाजरकोट । जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा जानुभएको र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ । अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत पनि बिना बिदा एक वर्षदेखि अमेरिका बस्दै आउनुभएको छ । गत कात्तिकमा आएर जागिर जोगाउनुभएका उहाँको त्यस यता हाजिरी रजिष्ट्ररमा गायल जनाइएको छ । त्यस्तै मेडिकल अधिकृत डा कृष्णजंग शाह, मेडिकल अधिकृतहरू डा धर्मराज रेग्मी केशरजंग कार्की र डा सुनिल पुन पनि जिल्ला अस्पतालमा हुनुहुन्न । विभिन्न बहानामा जिल्ला छोड्नुभएका उहाँहरू कोही व्यक्तिगत रुपमा, कोही एमडीको तयारीमा त केही तामिलमा हुनुहुन्छ । यता जिल्ला अस्पताल भने करार सेवामा कार्यरत सिकारु डा अमिन शाहको भरमा चलिरहेको छ । पचास श्ययाको जिल्ला अस्पताल डा शाहले जेनतेन चलाइरहनुभएको छ । अस्पतालको प्रशासनिक प्रमुखको जिम्मेवारी पनि उहाँले चलाउनु पर्दा उपचारमा समेत बाधा पुगिरहे पनि यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन । अस्पताल प्रमुख नै नभएपछि चिकित्सकहरू आफू खुशी जिल्ला बाहिर हिँड्दा उपचार सेवा प्रभावित भएको स्थानीय बासिन्दाको गुनासो छ । प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीका अनुसार अस्पताल प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कार्य अस्तव्यस्त र उपचार सेवा प्रभावित भएकाले काज फिर्ता गर्न पटकपटक ताकेता गरे पनि पहुँचको भरमा डा जैसवाल मन्त्रालयमा काजमा बस्दै आउनुभएको छ । मैले पटकपटक काज फिर्ता गराउन ताकेता गरे तर सुनुवाइ नभएको चर्चा गर्दै उहाँ भन्नुहुन्छ – “जिल्ला अस्पतालमा दरबन्दीमा कार्यरत कुनै पनि चिकित्सक जिल्लामा छैनन् । एकजना करारका चिकित्सकको भरमा जिल्ला अस्पताल चलिरहेको छ । एकजनाले २४ सै घण्टा उपचार गर्न कसरी भ्याउँछन् । निकै समस्या भइसक्यो ।” रासस