पश्चिमी वायुले बद्ली र वर्षा

229

चैत १६,
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बद्ली र वर्षा भइरहेको छ ।
उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । काठमाडौँका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ । अहिले वर्षा रोकिएर आकाश खुल्ला भएपनि अपराह्नदेखि पुनः वर्षा हुने मौसमविद् नगरकोटीको भनाइ छ । पूर्व, मध्य र पश्चिमका केही पहाडी भेगमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार कास्कीको लुम्लेमा १७, जुम्लामा १७, जिरीमा आठ, विराटनगरमा छ, पोखरामा पाँच र काठमाडौँमा तीन मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ र न्यूनतम ११ डिग्री सेल्सियस रहेको छ ।