चैत ७,
भक्तपुर । मध्यपुरथिमि नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्रबीच मंगलबार छ बुँदामा सम्झौता भएको छ ।
नगरपालिकामा भएको सम्झौतामा केन्द्रले कुनै पनि पदमा कर्मचारी करारमा भर्ना गर्दा नगरपालिकाका बासिन्दालाई ५० प्रतिशत दरबन्दी दिने सहमति भएको छ । त्यसैगरी केन्द्रबाट स्थानीयस्तरमा स्वास्थ्य तथा वातावरणीय क्षेत्रमा पर्ने प्रभाव र सोको न्यूनीकरणका लागि पूर्व सजगता र सावधानी अपनाउने सहमति भएको छ । सरकारले उपलब्ध गराएको निःशुल्क उपचारबाहेक शुल्क लाग्ने सेवा र अन्तरङ्ग सेवामा भक्तपुर जिल्लाका बासिन्दाका हकमा २५ र मध्यपुरथिमिका बासिन्दाका हकमा ७५ प्रतिशत छुट दिइने छ । केन्द्रले हाल भोगचलन गरेको जग्गाको नगरपालिकाले आवश्यक व्यवस्थापन गर्ने, अस्पताल व्यवस्थापनमा आवश्यक सहयोग, निर्देशन तथा अनुगमन गर्ने तथा अस्पताल सञ्चालनमा समन्वय र सहकार्य गर्ने सहमति भएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र र केन्द्रका निर्देशक डा केदारनरसिंह केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।