अब कर्णालिमै राम्रो उपचार

120

चैत ५,
कालिकोट । रोग, भोक अशिक्षा र स्वास्थ्य उपचारले भौतारिने कर्णालीवासीले अब भने कर्णाली नै बिशेषज्ञ उपचार पाउने भएका छन्। सामान्य बिरामी हुँदा उपचारका लागि सुर्खेत, नेपालगंज र काठमाडौं जानुपर्ने कर्णालीवासीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्णालीमा नै बिषेशज्ञ उपचार सेवा दिन थालेको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीको हुम्ला, डोल्पा र जुम्लामा विशेषज्ञ चिकित्सक नै बसेर सेवा संचालन गर्दै आइरहेको छ भने, मुगु र कालिकोट जिल्लामा महिनाको दुई पटकसम्म जिल्ला अस्पतालमै पुगेर विशेषज्ञ सेवा दिँदै आएको छ। जाजारकोट जिल्लामा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा संचालन गरिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले बताए। ‘सामान्य चोटपटकको उपचारका साथै जटिल खालको शल्यक्रिया कर्णालीमै हुने गरेको छ,’ उनले भने, ‘अब सामान्यदेखि जटिल उपचारका लागि कर्णालीबासीले कतै भौतारिनु पर्दैन्।’ समयमा कर्णालीबाटै विशेषज्ञ सेवा सुरु भए पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुँदै आएको गोसाई बताए। ‘विशेषज्ञ सेवाका लागि निश्चित कार्यतालिका बनेको छ,’ उनले भने, ‘आवश्यक परेमा कार्यतालिका भन्दा बढी पटक पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ।’ कर्णाली प्रदेशका कुनै पनि जिल्लामा महामारी फैलन सक्ने संकेत देखिने बित्तिकै विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै आएको अस्पताल निर्देशक गोसाईले बताए ।