फागुन १८,
राष्ट्रपति विद्यादेवी भण्डारीले २८ महिने कार्यकालमा तीन मुलुकको औपचारिक भ्रमण गरिन्– भारत, श्रीलंका र युनाइटेड अरब इमिरेट्स यूएई । बहुराष्ट्रिय भ्रमणमा जेनेभा पनि पुगिन् । तर चीन भ्रमणको अवसर जुरेन ।
यसमा भण्डारीले छिटोछिटो सरकार परिवर्तनलाई प्रमुख कारण ठानेकी छन् । आफ्नो सल्लाहकार समूह र निकट व्यक्तिसँगको अनौपचारिक कुराकानीमा उनले यस्तो धारणा राख्दै आएकी छन् ।
उनीअघिका राष्ट्रपति रामवरण यादवले दुईपटक चीन भ्रमण गरे, तर राजकीय नभई सांघाई एक्स्पो र बोआओ फोरममा सहभागी हुन ।
दुईपक्षीय सम्बन्ध र कूटनीतिमा निकै चासो राख्ने राष्ट्रपति भण्डारीले साना–साना विषय पनि उठाउने गरेकी छन् ।
राजदूतसँग छुट्टाछुट्टै छलफल गर्नुका साथै उनीहरूलाई नेपालमा भएको प्रगति सुनाउँछिन् । उनीहरूको चासो बुझछिन् ।
उनले छिमेकी चीन र भारतका कुनै कार्यक्रमलाई बेवास्ता गरिनन् । चीन भ्रमण नगरे पनि चिनियाँ सरकारको कार्यक्रम आफ्नै कार्यालयमा गर्न दिइन् ।