जेठ २५ मा हुने भो ‘चङ्गा’ चेट

270

फागुन ९,
काठमाडौं । छायाँकन सकिएर पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘चङ्गा’ ले प्रदर्शन मिति तय गरेको छ । आउँदो सालको जेठ २५ लाई औपचारिक रुपमा फिल्मको प्रदर्शन मिति तय गरिएको किशोर भण्डारीले जानकारी दिए । ’चङ्गा’ लाई मोफसलमा वितरणको अधिकार एफडी कम्पनिले खरिद गरेको छ । फिल्म निर्माण टिम र एफडी कम्पनिबीच मंगलबार मात्रै वितरण सम्झौता भएको हो । फिल्मको तर्फबाट निर्देशक भण्डारी र एफडी कम्पनिको तर्फबाट अध्यक्ष नरेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस्तै फिल्मलाई उपत्यकामा वितरणको अधिकार करण श्रेष्ठको रिच ईन्टरटेन्मेन्टले लिएको छ । हाँस्य जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ । ’चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार चढावलाई जोडिएको छ । रविन आचार्यले खिचेको फिल्ममा बुद्धी तमाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना ’बुनु मैंचा’, अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमबर्षा खड्का लगायत अभिनयमा छन् भने बाल कलाकार लकी भण्डारी फिल्ममा मुख्य भुमिकामा प्रस्तुत छन् ।
कन्टिन्यूयस मुभी मेकर्स प्रालीको ब्यानरमा बनेको ’चङ्गा’मा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको फिल्मकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।