बलभद्र कुँवर ऐतिहासिक लडाईं अब फिल्म ‘नालापानी’मा

428

काठमाडौं । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर फिल्म ‘नालापानी’ निर्माण हुँदैछ । प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहेर यो फिल्म निर्माण हुन लागेको हो । हाल यस फिल्मको लागि कलाकारहरुको अडिशन भईरहेको छ । अडिशनको क्रममा हालै मात्र रंगमञ्चका कलाकारहरुको अडिशन लिईएको छ । काठमाण्डौको कान्तिपुर फिल्म एकेडमीमा रंगमञ्चका कलाकारहरु र कलाकारिता पढ्दै गरेका विद्यार्थीहरुको अडिशन भएको हो । यसअघि नेपाल आर्मीका जवानहरुको समेत अभिनयका लागि अडिशन भएको थियो । निर्देशक रिमेश अधिकारीले ‘नालापानी’मा अधिकांश कलाकार रंगमञ्च क्षेत्रका रहने बताएका छन् । फिल्मको चाँडै वर्कशप सुरु हुँदैछ । नेपालको इतिहासले नै एउटा गर्व गर्न लायकको वीरताको गौरवपूर्ण तथ्य समेटेर ‘नालापानी’ निर्माण हुने निर्माता मनोज शाक्यले बताए ।