कसले सुनिदिन्छ हाम्रो पीडा

319
?

चैत २३,
सुर्खेत । २०७१ साल साउन २९ गते आएको बाढीले हरिपुरका करिब एक सय घरपरिवार विस्थापित भएका थिए । तर कति सरकार आए गए तर उनीहरुको पीडा सुनिदिने कोही भएन ।
उनीहरु अहिले गिरीघाट जङ्गलमा पालमुनी सानो छाप्रोमा बस्दै आएका छन् । बाढीबाट सबै गुमेपछि अभावै अभावमा खुल्ला आकासमुनि बस्न बाध्य भएका हरिपुरवासीलाई ३२ महिना पुग्दासम्म पनि उचित व्यवस्थापन हुन सकेको छैन ।
बाढीले घर, जग्गा बगाएर विस्थापित बनेका हरिपुरवासीले गाँसबासका लागि पहल गर्न माग गरेका छन् ।
लामो समयसम्म पुनःस्थपना नहुँदा उनीहरुलाई गाँसबासको चिन्ताले सताएका छन् । साविकको हरिहरपुर गाविस अहिलेको बराहताल नगरपालिका हरिपुरका स्थानीयले बाढीबाट विस्तापित भएपछि करिब चार किलोमिटर टाढा रहेको गिरीघाट जङ्गलमा पाल टाँगेर बसेका छन् ।
बाढीले घर जग्गा बगाएपछि सरकारी सहयोग र राहत पाउने आशामा बसेका बाढीपीडित अहिले निराश हुँदै गएका छन् । स्थानीय तहको निर्वाचन आउँदा पनि बाढिपीडितलाई निर्वाचनको रौनकले छोएको छैन ।
गिरीघाट जङ्गलमा पालमा बस्दै आएको तीनवर्ष पुग्न लाग्यो, सरकारले भूकम्पपीडित सरह हामीलाई राहत दिने भने पनि अहिलेसम्म केही नपाएको सीतला विकको गुणासो छ । अब वर्षायाम सुरु होला, अहिले गर्मीले पालमा सताउछ, जङ्गलमा सर्पको पनि उत्तिकै डर हुने गरेको पीडितको भनाई छ ।
काशिघाट खोलबाट ढुङ्गा ल्याएर कुट्दै दैनिकी आवश्यकता पूरा गरिरहेको सीतला बताउनुहुन्छ । दिउँसो गर्मीमा कुट्न सकिन्न, दिनभरी तीन कट्टासम्म गिट्टी कुट्न सकिन्छ, हामीले कुटेको गिट्टी बजारबाट घर निमार्ण गर्नेले कट्टाको ५० रुपैयाँमा किनेर लिने गर्छन् । त्यही पैसाबाट नुन र तरकारी खान सजिलो भएको उनी बताउँछन् ।