नेपाल टेलिकमले निःशुल्क सीम बाँड्दै

238

चैत २१,
बागलुङ। नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सीमकार्ड वितरण गरेको छ । यहाँ जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड बाँडेको हो । दुई दिनमै एकहजार भन्दा बढीले सीमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ ।
आउँदो बुधबारसम्म मेला भर्न आउने दर्शकलाई निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराइने कार्यालय प्रमुख केशव शर्माले बताउनुभयो । ग्राहकले एकप्रति फोटो र नागरिकताको प्रतिलिपि मात्र बुझाएर रु ५० ‘ब्यालेन्स’ भएको सीमकार्ड निःशुल्क पाएका छन् ।
मेला हेर्न आएको बेला अघिपछि रु एकसय पर्ने सीमकार्ड निःशुल्क रुपमा लान पाएपछि ग्राहाक खुसी छन् ।
सीमकार्डको ‘स्टल’ मा फाराम भर्ने र सीमकार्ड लिने ग्राहकको भीड लागिरहेको टेलिकमका कर्मचारीले बताएका छन् । मेला, महोत्सवमा यसरी नै निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । टेलिकमले नयाँ मोबाइल टावर राखिएका ठाउँमा पनि केही दिनको ‘क्याम्प’ राखेर निःशुल्क सीमकार्ड बाँड्ने गरेको छ ।