सरकारले सुरक्षा दिए एकैदिनमा निर्वाचन हुने, बैशाख ७ गतेसम्ममा मतपत्र छापिसकिने

247

चैत १५,
काठमाडौं । सरकारले सुरक्षा दिए निर्वाचन आयोग देशभर एकै चरणमा एकैदिन निर्वाचन सम्पन्न गर्न सक्षम रहेका निर्वाचन आयुक्त सुदिप कुमार शाहले बताएका छन् । सर्वसाधारणलाई निर्वाचन स्थलसम्म आउने वातावरण तयार गर्ने र सुरक्षाको व्यवस्था मिलाउने दायित्व सरकार र राजनीतिक दलको रहेको उल्लेख गर्दै उनले आयोगले दुई नं. प्रदेशमा समेत एकै चरणमा निर्वाचनको कार्यक्रम लिएर जाने दाबी गरे । संचारकर्मीसँग कुरा गर्दै निर्वाचन आयुक्त शाहले भने, ‘राजनीतिक तथा अन्य अदृश्य कारणले समेत दुई नं. प्रदेशमा चुनाव गर्न नसकिने अवस्था रहेपनि हामी त्यहाँ चुनावी कार्यक्रम लिएर जान्छौं ।’ मतपेटिका अभावको कारण सरकारलाई दुई चरणमा निर्वाचन गर्न सुझाव दिए पनि सरकारले एकै चरणमा निर्वाचन गर्नुपर्ने बताएपछि थप मतपेटिका खरिद गर्ने काम समेत पुरा भईसकेको भन्दै उनले अब निर्वाचनको लागि शान्तिसुरक्षाको व्यवस्था मिलाउने काम सरकारको रहेको बताए। उनले थप २५ हजार मतपेटिका खरिद गर्ने काम भईसकेको र निर्वाचनको तयारीका अरु कामहरु पनि तिव्र रुपमा भईरहेको बताए । ‘एउटै मतपत्रमा धेरै चुनाव चिन्हहरू छाप्दा मतदाता अलमलमा पर्न सक्ने सम्भावना हुनसक्छ हामी बदर मत घटाउने र सदर मत बढाउने गरी विभिन्न माध्यमबाट मतदाता शिक्षालाई सर्वसाधारणको घरदैलोमा र्पुयाउने अभियानमा छौं,’ उनले भने । सबै स्थानीय निकायमा कार्यरत सामाजिक परिचालक र स्वयंसेवक मार्फत बैशाख १ गतेदेखि २९ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने गरी क्षेत्रीयस्तरमा तालिम संचालन भईरहेको शाहले जानकारी दिए । सोही क्रममा पांच नं. प्रदेशका विभिन्न ६ वटा जिल्लाका निर्वाचन अधिकृतहरुका लागि बुटवलमा संचालन भएको मतदाता शिक्षा तालिम आईतवार सकिएको छ । उनले देशभर ३६ हजार ६ सय ८० पदको लागि २१ हजार मतदान केन्द्रमा एकैपटक निर्वाचन हुने जानकारी दिए । निर्वाचन आयुक्त शाहले अहिलेको निर्वाचनमा उम्मेदवारको संख्या र निर्वाचनमा भाग लिने दलहरुको संख्या समेत धेरै रहेकोले मतपत्रको डिजाईन सोचेजस्तो सहज र सरल नहुने बताए । यता जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा गएको ६ गते आइतबार बेलुकादेखि मतपत्र छाप्न सुरु गरिएको र हिजो सोमबारसम्म ३१ जिल्लाको मतपत्र छापिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले चुनावका लागि एक करोड ४० लाख मतदाताको नामावली सङ्कलन गरिसकिएको र चुनावका लागि १ करोड ६० लाख मतपत्र छापिने प्रवक्ता शर्माले जानकारी दिनुभयो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आगामी वैशाख १० गतेदेखि निर्वाचन मतदाता शिक्षा सञ्चालन गर्ने तयारी गरेको छ । प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाली सेनाको तीन तहको विशेष सुरक्षा घेराभित्र छपाइको काम भइरहेको बताए । अहिले दुर्गमका जिल्लाहरुबाट मतपत्र छपाइको काम सुरु गरिएको र वैशाख ७ गतेसम्म सबै जिल्लाको मतपत्र छापिसकिने प्रवक्ता शर्माले जानकारी दिनुभयो । अहिलेसम्म मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जाजरकोट, कालिकोट, सल्यानलगायत ३१ जिल्लाको काम सकिएको हो । ‘आयोगले तय गरेको आन्तरिक कार्यतालिका अनुसार काम भइरहेको छ, समयमै सबै काम सकिन्छ’ प्रवक्ता शर्माले भने ।