‘नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य’

392

चैत १३ ,काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम० को ४४ औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकको गौरवसँग जोडिएको पर्यटनको अथाह सम्भावनालाई भरपुर उपयोग गर्न नसकिएको उल्लेख गरे।
“नेपालका हरेक गाउँ, जुनसुकै ठाउँ प्राकृतिक सुन्दर र सांस्कृतिक रुपमा सम्पन्न रहेका छन् तर प्रकृतिको अनुपम उपहार र वीर पुर्खाबाट सिर्जित संस्कृतिलाई पर्यटन गन्तव्यका रुपमा रुपान्तरण गरेर नेपाललाई ठूलो पर्यटन उद्योगका रुपमा विकसित गर्न सकिरहेका छैनौँ”–उपराष्ट्रपतिले भने।
नेपालको पर्यटन क्षेत्रलाई दिगो आर्थिक विकाससहित समृद्धिको आधारका रुपमा प्रस्तुत गरिँदै आएको भए पनि यो क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभाव रहेको भन्दै उहाँले अब पर्यटन क्षेत्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्न कुनै ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे ।
उपराष्ट्रपति पुनले नाथमले उच्चस्तरीय शैक्षिक कार्यक्रम, सीपमूलक तालिम अध्ययन अनुसन्धानका साथै परामर्श सेवामार्फत पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनमा खेलिरहेको भूमिकाको प्रशंसा गर्नुहँुदै यसबाट नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण योगदान पुग्नुका साथै नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पारेको बताए ।
पर्यटन तथा होटल व्यवस्थापनमा पढ्न चाहने सबै विद्यार्थीलाई सहजरुपमा पढ्ने वातावरण बनाउने मात्र नभई विदेशी विद्यार्थीले पढ्ने वातावरण बनाउनुका साथै नाथमलाई सार्कस्तरकै उत्कृष्ट संस्थाका रुपमा स्थापित गरिनुपर्नेमा उपराष्ट्रपतिको जोड थियो । उपराष्ट्रपति पुनले नाथमलाई पर्यटन विश्वविद्यालय बनाउने योजनालाई समर्थन गर्दै यसको चाँडो पहल थाल्न सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङले मुलुकको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिका रुपमा अघि बढाउन आवश्यक पूर्वाधार विकासमा जोड दिए ।
पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले पर्यटन क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी पर्यटन उद्योगलाई बढावा दिन नाथमको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याए। पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठले पर्यटन क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गर्न नाथमले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याउने विभिन्न महानुभावलाई सम्मान गरिएको थियो ।