हिन्दु राष्ट्र र राजतन्त्र हाम्रो मुटु हो

485

चैत ११,
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपती समशेर राणाले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मुटु भएकाले कोही कसैले यसलाई पार्टीको बिधानबाट हटाउन नसक्ने बताए ।
राप्रपा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै नेता राणाले राप्रपाको मुल एजेण्डामाथि निर्वाचन आयोगले हस्तक्षेप गरेर गैरजिम्मेवारपूर्ण कार्य गरेको बताए ।
उनले यहि एजेण्डा बोकेर दुईवटा निर्वाचन सम्पन्न गरिसकेको र ०७० सालको निर्वाचनमा हिन्दुराष्ट्र बनाउन लोकप्रिय जनमत प्राप्त गरेको समेत उल्लेख गरे ।
राणाले पार्टीको यहि दुईवटा बिचार र सिद्धान्तका आधारमा स्थानीय तहको निर्वाचनमा सहभागि हुने र देशभर जित हासिल गर्ने दावी समेत गरे ।
कार्यक्रममा नेता राणाले निर्वाचन आयोगले राप्रपाको बिधानबाट हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र हटाएर गल्ती गरेको बताउँदै यो निर्णय नसच्याएसम्म पार्टीले सरकार, सदन र सडकमा आन्दोलन जारी राख्ने बताए ।
राणाले स्थानीय तहको निर्वाचनमा पार्टीको संगठन बलियो रहेको क्षेत्रमा एक्लै र कमजोर संगठन रहेको क्षेत्रमा समिकरण गरेर निर्वाचनमा भाग लिने बताए ।
कार्यकर्ता भेलामा पार्टीका प्रवक्ता भुवन पाठकले कांग्रेस, एमाले र माओवादी केन्द्र तीन दलको भागबण्डामा गठन भएको आयोगले राप्रपाको एजेण्डालाई कमजोर बनाउन हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र हटाएको आरोप लगाएका छन् ।
सो अवसरमा पार्टीका केन्द्रिय सदस्य रविन्द्र प्रताप शाहले पार्टी निर्वाचनमा होम्मिसकेकाले स्थानीय तहको निर्वाचनमा सक्रिय भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।