Friday, October 16, 2026
Home राजनीति संवैधानिक परिषद् बैठकमा कांग्रेसले भाग नलिने

संवैधानिक परिषद् बैठकमा कांग्रेसले भाग नलिने

104

बैशाख २५,
काठमाडौं : नेपाली कांग्रेसले संवैधानिक परिषद् बैठक बहिस्कार गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) बस्नेगरी परिषद्‌ बैठक डाकेका छन्‌।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मुल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने घोषणा गरेका हुन्।

‘नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘संवैधानिक परिषद् सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरीत, संसदीय मूल्य, मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आह्वान गर्दछु।’

लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने देउवाले उल्लेख गरेका छन्।

‘संवैधानिक निकायको नियुक्तिका लागि नेपालको संविधानले संवैधानिक परिषद्को विशेष व्यवस्था गरेको छ। वर्तमान सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गर्ने यसको कार्य क्षेत्रलाई संकुचित गर्नेगरी पटक-पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद्‌ (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको छ।

नेपाली कांग्रेसले प्रारम्भ देखिनै उक्त कार्यको विरोध गर्दै आएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘यो अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरीत रहेको छ। यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको छ। कानून निर्माण र संशोधन गर्ने संसदको आधारभूत, मौलिक एवं अविच्छिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशका मार्फत संविधानको संरचना नै भत्किने गरी पटक-पटक अध्यादेश जारी गर्ने काम भएका छन्‌। सरकारले वदनियतपूर्वक षडयन्त्रमूलक ढङ्गले अध्यादेश जारी गरेको कांग्रेसको ठहर छ।’