रोल्पामा एक दिनमा तीन जोडीको सम्बन्ध तोडीयो

373

फानुग २७,
रोल्पा । महिला दिवसकै वरपर रोल्पामा एकैसाथ फरक फरक गाविसका तीन जोडीले जिल्ला अदालत रोल्पामा पुगी सम्बन्ध विच्छेद गरेका छन् । यसरी सम्बन्ध विच्छेद गर्ने जोडी २२ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवस सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि महिला तथा बालबालिका कार्यालय रोल्पासहित जिल्लाका विभिन्न सरोकारवाला निकायको तयारी तीव्र भइरहेकै बेला उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन् । मानसिक तथा शारीरिकरुपमा श्रीमान्बाट यातना सहेर सँगै बाँच्नुभन्दा सम्बन्ध विच्छेद गरेर बरु दुःखै सहन उचित ठानी आफूहरु यो निर्णयमा पुगेको उनीहरुको भनाइ छ । जौलिपोखरी–३ रोल्पाकी २२ वर्षीय सुकमती राना सम्बन्ध विच्छेदका लागि भन्दै मंगलबार जिल्ला अदालत रोल्पा आएकी छन् । गत माघको अन्तिम साता श्रीमानले सौता हालेर यातना दिएपछि सौतासँग बसेर बाँकी जीवन काट्न नसक्ने भन्दै उनी सम्बन्ध विच्छेदका लागि लिबाङ आएकी छिन् । रानाले १५ वर्षको उमेरमा घोडागाउँ–७ रोल्पाका १८ वर्षीय गोपाल बस्नेतसँग प्रेम विवाह गरेकी थिइन् । करिब ६ वर्ष लामो वैवाहिक जीवन बिताएको भएपनि यो जोडी करिब २ वर्ष मात्र सँगै बसेको छ । यस्तै, बुढागाउँ–९ रोल्पाकी ५४ वर्षीया शान्ति विकले श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने इच्छा नहुँदा नहुँदै पनि सम्बन्ध विच्छेद गर्न बाध्य भएको बताइन् । उनको अनुसार २० वर्षको उमेरमा जुँगार–२ रोल्पाका १९ वर्षीय वीरमान सुनारसँग प्रेम विवाह भएको थियो । विवाहपछि यो जोडीका सबैजसो पल सामान्य नै रहे । तर पनि करिब ११ वर्षपहिले देखि घरायसी विवाद वा सामान्य झैझगडाका कारण यो जोडीको पारिवारिक सम्बन्ध सुमधुर बन्न सकेन । श्रीमान् घरबाहिर बस्ने, घरकी श्रीमतीलाई वास्ता नगर्ने गर्दै आएको भएपनि एक छोरा र तीन छोरीकी आमा बनेकी विक सन्तानको संरक्षण गर्दै घरमै बस्दै आएकी छिन् । तालाबाङ–२ रोल्पाकी २४ वर्षीया दिलकुमारी वली सरकारी विद्यालयकी शिक्षिका हुने । आजभन्दा ६ वर्षपहिले एसएलसी उत्तीर्ण गरेलगत्तै कक्षा ७ पढेर बीचमै पढाइ छोडेका गाउँकै २० वर्षीय झुपलाल डाँगीसँग परिवारको करकापमा मागी विवाह भएको थियो । तर विवाह पछिका कुनै पनि पल सुखद रहेनन् । रातदिनको झैँझगडाले श्रीमान्श्रीमती दुवैलाई मानसिक तनाव भइरह्यो । यसअघि दुईपटक सम्बन्ध विच्छेदका लागि तयार यो जोडी आफन्तको सल्लाह सुझावबमोजिम बाहिरी रुपमा मिलेर फर्किएको जोडी मनैदेखि मिल्न सकेन अनि अन्तमा सहमतिमै सम्बन्ध विच्छेदका लागि भन्दै मङ्गलबार पुनः जिल्ला अदालत रोल्पामा आएको हो । करिब ६ वर्ष लामो सहयात्रा गरेको यो जोडीको सन्तान भने जन्मिएका छैनन् । यो जोडीको पनि सम्बन्ध विच्छेद भएरै छाड्यो ।