माओवादीका सांसले कर्मचारी कुटेपछि

180

ताप्लेजुङ । गाविसको तथ्यांक संकलनका लागि खटिएका पशुसेवा कार्यालयका कर्मचारी भीम घिमिरेलाई सांसद वाङ्दी शेर्पाले सरकारी कर्मचारीलाई ढोका थुनेर कुटेका छन् । उनी माओवादी पार्टीका सांसद हुन् । खेजेनिम गाविस पुगेका घिमिरे सांसद शेर्पाको घरमा तथ्यांक संकलन गर्न पुगेका थिए । शेर्पाले परिचय पत्र माग्दै आफूलाई नियन्त्रणमा लिई कोठामा थुनेर कुटपिट गरेको घिमिरेले बताए। आफूसँग परीचय पत्र नभएको बताउँदा ‘यस्तो पनि कर्मचारी हुन्छ’ भन्दै कुटपिट गरेको र आफूले टेलिफोन गरी प्रहरी र सामाजिक परिचालकलाई जानकारी गराएपछि मात्रै छाडेको घिमिरेले बताए । स्थानीयले पनि सांसदले कर्मचारीलाई २÷३ घण्टा नियन्त्रणमा लिई कुटपिट गरेको पुष्टि गरे । तर, संसद शेर्पाले भने आफूले घिमिरेलाई परिचय पत्र नबोकी किन हिँडेको भनेर सोधपुछ मात्रै गरेको दाबी गरेका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालयले संसद शेर्पा र कर्मचारी घिमिरेलाई मिलापत्र गराएको छ । कर्मचारीले परिचय पत्र नबोकेको र संसदले पनि कर्मचारीसँग भनाभन हुँदा धकेलेको हुन सक्ने भएकाले दुबैको सहमतिमा घटनालाई मिलाइएको प्रजिअ नरबहादुर खड्काले बताए । घटनालाई मिलाउन आधिकारिक कर्मचारी ट्रेड युनियनका जिल्ला अध्यक्ष रामचन्द्र नेपालसहित प्रमुख जिल्ला अधिकारी साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।