झापाका सुकुम्बासीका गुनासो : ‘ हरेक निर्वाचनमा लालपूर्जा दिलाउने आश्वासन दिन्छ्न ‘

4

झापा । आफूले भोट हालेर जिताएका जनप्रतिनिधिसँग मतदाताका थुप्रै अपेक्षा हुन्छन् । विकास निर्माणदेखि साह्रो अफ्ठ्यारो पर्दा नेताको सहयोग पाइएला कि भन्ने आशा हरेक मतदाताको हुन्छ । झापाको वुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ को सट्टाभर्ना क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारको त्यो आशा भने वितेका साढे तीन दशक यताका कुनै चुनावले पनि पूरा गर्न सकेनन् । हरेक पटकका चुनावमा यो बस्तीमा भोट माग्न पुग्ने सबैजसो उम्मेदवारले लालपूर्जा दिलाउने आश्वासन दिने गरेका छन् । तर, साढे तीन दशकदेखि यो बस्ती लालपूर्जाविहिन नै छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ मा पर्ने सट्टाभर्ना क्षेत्रमा यो बस्ती बसेको ३७ वर्ष भयो । नेपाल चिया विकास निगमले बगान विस्तार गर्ने क्रममा २०४५ सालमा झापाको डाँगीबारी, शान्तिनगर लगायत क्षेत्रका बासिन्दालाई यो स्थानमा जग्गा दिएर सारेको थियो । तर, उनीहरुले अहिलेसम्म आफ्नो घर जग्गाको लालपूर्जा पाएका छैनन् । ३ हजार २ सय घरधुरी रहेको यो बस्ती हरेक चुनावमा उठ्ने उम्मेदवारको भोटवैंक बन्ने गरेको छ । यहाँ भोट माग्न पुग्ने हरेक उम्मेदवारले जसरी पनि लालपूर्जा दिलाउने आश्वासन दिएर भोट बटुल्छन् । चुनाव जितेर गएपछि भने आफूहरुलाई चटक्कै विर्सने गरेको यहाँका मतदाताको गुनासो छ ।