”प्रधानमन्त्रीले हरेक ३० दिनमा जनतालाई हिसाब बुझाउनुपर्छ”

1

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति पाँच वर्षे योजनामा मात्र सीमित नभइ दैनिक कार्यसम्पादन र जवाफदेहीतामा आधारित हुनुपर्नेमा जोड दिनुभयो । सभापति थापाले प्रस्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा चुनाव र चैतमा सरकार बनेपछि वैशाख १ गतेदेखि नै प्रधानमन्त्रीले जनताका नाममा जवाफदेहीताको नयाँ अध्याय सुरू गर्ने बताउनु भयो ।

कांग्रेसको सरकार बन्दै गर्दा प्रधानमन्त्रीले पाँच वर्षको अमूर्त कुरा नगर्ने समेत उहाँले स्पष्ट पार्नुभयो । हरेक ३० दिनमा प्रधानमन्त्री देशबासीको सामू उभिएर गएको महिना के काम भयो र के हुन सकेन भन्ने स्पष्ट हिसाब दिने पनि उहाँले बताउनु भयो । काठमाडौंको आफ्नो सुरक्षित मानिने निर्वाचन क्षेत्र छाडेर मधेशको भित्रि भेग सर्लाही(४ बाट चुनावी मैदानमा उत्रिनुको कारण प्रस्ट्याउँदै थापाले मधेश नबुझी देशको सफल नेतृत्व गर्न असम्भव रहेको बताउनु भयो ।