काठमाडौं – साहित्यकार जितेन्द्र रसिकको १८ ओैँ कृति बाल उपन्यास “साइबोर्ग“ सार्वजनिक भएको छ । बुधबार इर्टनल पब्लिकेसनका प्रकाशक यमुना पराजुली र एजुकेशन पब्लिसिङ बुक हाउस काठमाडौं जमलका प्रतिनिधि तथा व्यवस्थापकहरू शितल सुकुभटु, रमण राउट, भजन राउट लगायतले संयुक्तरूपमा उपन्यास लोकार्पण गर्नुभएको हो ।
साइबोर्ग उपन्यास साहित्यकार जितेन्द्र रसिकको विज्ञान उपन्यास हो। यो उपन्यासमा विज्ञानको उन्नतिले भविष्यमा कस्तो अवस्था सिर्जना हुन सक्छ भन्ने सुन्दर परिकल्पनाहरू समावेश रहेको प्रकाशक यमुना पराजुलीले बताउनु भयो। प्रविधिहरू, खासगरी आर्टिफिसिलय इन्टेलिजेन्सको चरम विकास हुँदै जांदा भाविष्यमा त्यसले मानव समुदाय माथि नै धावा बोल्ने त होइन भन्ने आशंकालाई यो विज्ञान उपन्यासने रोचक ढंगले उठाएको छ। के विज्ञानले मानिसलाई कहिल्यै नमर्ने बनाउन पनि सक्दछ? भन्ने प्रश्नको पनि यसले तर्कसम्मत संभावनाहरू देखाएको पराजुलीको भनाइ छ । बालबालिका र किशोरकिशोरीमा कल्पना, जिज्ञासा र तर्कशीलता बढाउनका लागि यो पुस्तक प्रभावकारी बन्ने उपन्यासकार जितेन्द्र रसिकले बताउनु भयो । यो बाल उपन्यासको मूल्य २५० रुपैयाँ रहेको छ ।
लोकार्पणसँगै बाल उपन्यास साइबोर्ग एजुकेशनल पब्लिसिङ बुक हाउस, रत्नपुस्तक भण्डार लगायतबाट उपन्यास विक्रि थालिएको छ । इर्टनल पब्लिकेसन्स र एजुकेश्नल पब्लिसिङ बुक हाउसले सहकार्य थालेको हो । लेखक रसिकका यस अघि बाल साहित्यमा एलियनको पृथ्वी भ्रमण (बालकथासङ्ग्रह), हावा फल्ने रूख (सचित्र बालकथा), एङ्ग्री बर्ड (बालकथा सङ्ग्रह), बेलबहादुरसँग बिहे (सचित्र बालकथा ३ संस्करण), गुलेली (बालकथासङ्ग्रह), हनुमानको करामत (सचित्र बालकथा), जाडुगर एआई (सचित्र बालकथा) प्रकाशित छन् । रसिकको उपन्यास,गजल, संस्कृति, जीवनी लगायत विधामा ११ कृति प्रकाशित छन् । उहाँका करिव १ दर्जन गीत गजल पनि रेकर्ड भइसकेका छन् । उहाँ नेपालभाषा संस्कृति र साहित्यको क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ।













