बालबालिकालाई संस्कार र सीप विकासमा सघाउँदै प्रगति संस्कार

8

पर्वत : सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत प्रज्वल रेग्मीले अब परालबाट गुन्द्री बुन्न जानेका छन्। आफ्नो बाबु व्यापारको सिलसिलामा केही वर्ष पहिले नै गाउँबाट बजार झर्दा प्रज्वल सानै थिए। गाउँबाट ल्याएका परालका गुन्द्रीमा बसेर अध्ययन गर्ने गरेको भए पनि त्यो गुन्द्री कसरी बनाइन्छ उनलाई थाहा थिए। तर अहिले भने उनलाई गुन्द्री बुन्ने सामग्रीहरू दिने हो भने गुन्द्री नै बुन्न सक्ने भएका छन्।कुश्माकै आदर्श आवासीय माध्यमिक विद्यालयको कक्षा पाँचमा अध्ययनरत ऋषिका लामिछाने ‘प्लास्टिक’का गुन्द्रीका बारेमा जानकार रहे पनि परालबाट बनाइने गुन्द्रीको बारेमा अनविज्ञ थिइन्। तर अब उनलाई चार कुनामा किल्ला ठोकेर, डोरीको तान लगाएर, पराल उनेर बिट मार्न आउँछ।प्रज्वल र ऋषिका जस्तै कुश्माको प्रगति संस्कार बाल क्लबमा आबद्ध रहेका बालबालिकाहरूलाई संस्कार र सीपको विकासमा यसरी नै प्रेरित गर्ने गरिएको छ। विद्युतीय उपकरणहरूको बढ्दो प्रयोग, तिनीहरूको प्रयोगबाट बालबालिकामा विकास हुँदै गरेको एकोहोरो र जिद्दीपन र नतिजाका रूपमा आउने क्रोध, आवेग र गलत निर्णयलाई न्यूनीकरण गर्नका लागि क्लबले संस्कारमा आधारित सीपहरू सिकाउँदै आइरहेको छ।

सोही सिलसिलामा क्लबमा आबद्ध भएका बालबालिकाहरूलाई जम्मा पारेर सामूहिक रूपमा गुन्द्री बुन्न सिकाइएको क्लबकी संरक्षक तथा शिक्षक रश्मी गौतमले बताइन्। लोप हुँदै गएका नेपाली मौलिक कला, संस्कार, संस्कृति र परम्पराको रक्षा गर्ने गर्ने चार वर्ष अगाडिबाट सक्रिय रहेको क्लबले बालबालिकाहरूलाई सघाउने गरेको छ। एक त परालका गुन्द्री बुन्ने चलन हराउँदै जान थालेको र त्यसमा पनि ‘गुन्द्री बुन्ने काम महिलाको हो’ भन्ने मानसिकताका कारण पुरुषमा यो सीपको कमी देखिने गरेको छ।तर कुनै पनि सीप महिला वा पुरुषका लागि मात्रै भनेर भागबन्डा नभएकोले हरेक सीप हरेक व्यक्तिले सिक्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि बालबालिकाहरूलाई गुन्द्री बुन्न सिकाइएको संरक्षक गौतमको भनाइ छ।

बालबालिकाहरूले गुन्द्रीको तान तयार गर्नका लागि चौकोस मिलाउन, किल्ला ठोक्न, डोरी टाँग्न, हतासोको प्रयोग गर्न, अब जान्ने भएका छन्। उनीहरूमा संस्कार मात्रै होइन परम्परागत सीपहरूको पनि विकास हुनुपर्छ भनेर छात्र र छात्रा दुवैलाई एकै ठाउँमा भेला पारेर गुन्द्री बुन्न सिकाइएको हो। विद्यार्थीहरूले बुनेका गुन्द्री कुश्माको गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशालामा प्रदान गरिएको छ।