विपद् व्यवस्थापनमा कानुनी तथा नीतिगत व्यवस्था गरेका छौ: उपप्रमुख बुढाथोकी 

34

भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धि आवश्यक कानुनी तथा नितीगत व्यवस्था गरेको बताउनु भएको छ ।

नगरपालिकाको सहयोग, समन्वय र सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं २२ गण हे.क्वा गुह्येश्वरी भक्तपुरद्वारा सञ्चालित विपद् स्वयंसेवक (अग्रवर्ती खोज तथा उद्धार ) प्रशिक्षण सम्पन्न कार्यक्रममा बोल्दै उप प्रमुख बुढाथोकीले भन्नू भयो ” विपद् व्यवस्थापनका लागि छुट्टै इकाईको स्थापना गरी नगर प्रहरी सहितको विपद् व्यवस्थापन टोली तयारी अवस्थामा राखेको छ” । 

उपप्रमुख बुढाथोकीले नगरपालिकाले विपद् व्यवस्थापन स्वयंसेवकलाई विमा गर्नुका साथै प्रतिकार्यमा खटेको समयमा प्रदेशले तयार गरेको स्वयंसेवक परिचालन निर्देशिका बमोजिम न्यूनतम सुविधा प्रदान गर्ने गरेको जानकारी दिनुभयो । 

नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाई नगरबासीलाई सुरक्षित बनाउने तर्फ लागि पर्ने उहाँको भनाई छ । २०८१ सालको मनसुनको समयमा नगरपालिकाको विपद् व्यवस्थापन टोलीले प्रभावित स्थानमा तत्काल पुगी प्रतिकार्यको काम गरेको स्मरण गर्नुहुदै प्रतिकार्यमा साथ दिनुहुने सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनालाई समेत उप प्रमुख बुढाथोकीले धन्यवाद दिनुभयो ।

चाँँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नं २ का वडा अध्यक्ष सोम प्रसाद प्रधानले अघिल्लो वर्षबाटै नगरपालिकाले विपद् व्यवस्थापन स्वयंसेवक टोली गठन गर्ने कार्यको शुरुवात गरेको बताउनुभयो । उहाँले नगरपालिकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरि सरकारी तथा गैह्र सरकारी निकाय, सुरक्षाकर्मी, राजनैतिक दल, जनप्रतिनिधिहरु तथा नागरीक समाजसंग समन्वय र सहकार्य गरि विपद् पूर्वतयारी तथा प्रतिकार्यका कामहरु गरीरहको बताउनुभयो । 

सशस्त्र प्रहरी बल दुवाकोट  गणका गणपति जनक सापकोटाले स्थानीय तह र सुरक्षा निकाय बीचको सहकार्य र समन्वयले सम्भावित विपद्को जोखिम न्यूनीकरण र प्रतिकार्य गर्न सकिने बताउनुभयो । विपद्  व्यवस्थापन तीनै तहको सरकारको जिम्मेवारी भित्र पर्ने काम भएकाले र सबै पक्षको आपसी सहयोग विना विपद् व्यवस्थापन गर्न गाह्रो पर्ने बताउनुभयो । 
सो अवसरमा सैद्धान्तिक र व्यवहारीक ज्ञान र शिप प्रदान गरीएको थियो ।  प्रशिक्षणमा विपद् र यसको प्रकार, विपद्  सम्बन्धि कानुनी तथा नितीगत व्यवस्था, चाँगुनारायण नगरपालिका र विपद्को अवस्था, प्राथमिक उपचार परिचय र महत्व, घाइतेको जाँच, कृत्रिम श्वास प्रश्वास, भँचाई, घाइतेको बर्गिकरणलगायतका विषयमा कक्षाहरु सञ्चालन भएका थिए । 

सहभागित तर्फबाट मन्तव्य राख्नुहुदै शोभा पौडेलले प्रशिक्षणमा सिकेको कुरा र त्यसका महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । सशस्त्र प्रहरी बलको गण दुवाकोटमा सञ्चालित प्रशिक्षणको संयोजक सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक बुद्धि नारायण मर्हजनले गर्नुभएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापा लगायत प्रशिक्षकहरुको पनि उपस्थिती रहेको थियो ।

नगर प्रहरी तथा विपद् व्यवस्थापन स्वयंसेवकहरुको लागि असार २ गते बाट सशस्त्र प्रहरीबलको दुवाकोट गणमा सञ्चालित प्रशिक्षणमा १० महिला र २२ पुरुष गरी ३२ जनाको सहभागिता रहेको थियो ।