राजावादीले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्

20

काठमाडौं । राजावादीहरूले आन्दोलनमा भाडाका मान्छे ल्याएर चुरीफुरी देखाएको आरोप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका छन् । शनिबार प्रेस सेन्टर नुवाकोटले गरेको अन्तरक्रियामा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरूलाई धेरै चुरीफुरी नगर्न चेतावनी पनि दिए। ‘मैले धेरै अगाडिदेखि भन्दै आइरहेको छु राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरे हुन्छ । नेपाल धेरै अघि बढिसकेको छ’, उनले भने, ‘भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्ने कुरा सामान्य हो । राजावादीहरूले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरूलाई छ। राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा संविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन । उहाँहरूसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो ।’

प्रचण्डले राजावादी आन्दोलनलाई केवल राजाका लागि नभई वर्तमान सरकारप्रति जनताको असन्तुष्टिका रुपमा अर्थ्याए। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सदनमा संविधान अनुसार सपथ खाएर संविधानविरुद्ध नजान आग्रह पनि राजावादीहरूलाई गरे। उनले भने, ‘सदनमा यही संविधान अनुसार सपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरू लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबले पनि बिलकुल बेठीक हो ।’