Friday, September 18, 2026
Home राजनीति तीन जना मन्त्रीलाई तत्काल बर्खास्त गर्न एमालेको माग

तीन जना मन्त्रीलाई तत्काल बर्खास्त गर्न एमालेको माग

21

काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले ललितपुरको बालकुमारीमा भएको हत्याकाण्डमा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानविन आयोगले भनिसकेको भन्दै दोषीलाई मन्त्री पदमा राख्न नमिल्ने भन्दै तत्काल बर्खास्तको माग गरेको छ। यस्तै स्वास्थ्यमन्त्री मोहन बस्नेत र सुदन किरातीलाई पनि बर्खास्त गर्न माग गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधामन्त्रीसँग सवाल जवाफ कार्यक्रम रहेकोमा एमाले सांसदहरूले विरोध गरेपछि सभामुखले एमालेका सचेतक महेश बर्तौलालाई बोल्ने समय दिएका थिए। बर्तौलाले सरकारले गठन गरेको आयोगले नै दोषी भनेका मन्त्रीलाई जोगाएर सिपाहीलाई कारबाही गर्ने कुरा एमालेलाई स्वीकार्य नरहेको भन्दै तत्काल मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरे। उनले घटनामा गृहमन्त्री पनि दोषी रहेको भन्दै सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा स्वीकार्य नहुने बताए। उनले एमालेले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत अख्तियारको छानविनमा रहेको भन्दै भ्रष्टाचारमा जोडिएका मन्त्रीलाई छेउमा राखेर प्रधानमन्त्रीको सुशासनको भाषण सुन्न नसकिने बताए। टेरामक्स भ्रष्टाचार प्रकरणमा मन्त्री बस्नेतले अख्तियारमा बयान दिइरहेको र उनी भ्रष्टाचारका आरोपी भएकाले मन्त्री पदमा रहन नमिल्ने भन्दै संसदमा एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। पर्यटनमन्त्री सुदन किराती भ्रष्टाचारमा संलग्न रहेको भनेर अनुसन्धानमा आइसकेको सचेतक बर्तौलाले बताए। किराती अध्यक्ष रहेको लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीको सार्वजनिक जग्गा प्रधानमन्त्रीका घरबेटीका छोरालाई गैरकानूनीरूपमा लिजमा दिने निर्णय गरेको भन्दै बर्तौलाले तत्काल बर्खास्त गर्न माग गरे।