देउवाले कहिलेसम्म जोगाउलान् प्रचण्ड सरकार ?

48

बीबीसी । नेकपा माओवादी केन्द्र लगायतले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति गरे पनि वर्तमान सरकारको आयु कति हुन्छ भन्ने प्रश्नमा चासो बढेको छ। प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सहकार्य तोडेपछि बनेको कांग्रेस सहितको आठ दलीय मोर्चामा सरकारबारे कुनै निर्णय नहुँदा त्यस विषयमा विभिन्न आशङ्काहरू पनि देखा पर्न थालेका हुन्।नेकपा माओवादी केन्द्रका नेता गणेश शाहलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच प्याकेजमै भद्र सहमति भएको जस्तो लागेको छ।

तर अहिलेसम्म प्रचण्डले त्यसबारे प्रस्ट रूपमा पार्टीभित्र मुख नखोलेको उनले बताए। राष्ट्रपतिको निम्ति सहमति गर्न दलहरूबीच भएको छलफलमा प्रधानमन्त्रीमा आलोपालो गर्ने र केही अवधि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि सरकारको नेतृत्व गर्न दिने समझदारी भएको अस्पष्ट खबरहरू प्रकाशमा आएका थिए।

कांग्रेसले मौका छोप्छ कि ?
माओवादी नेता शाह भन्छन्, “सरकारमा आलोपालो गर्ने र उपराष्ट्रपति जसपालाई दिएर उपेन्द्र यादव फेरि चुनाव लड्ने खालको सहमति भएको जस्तो लाग्छ। मैले यस्तो समझदारीलाई मिलीजुली बसौँ बाँडिचुँडी खाऔँ भन्ने गरेको छु।” कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार भने शक्ति बाँडफाँटबारे कुनै समझदारी भएको छैन।
कतिपयले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रचण्डले विश्वासको मत लिँदा कांग्रेसले नदिएमा सरकार ढल्ने अनुमान भइरहेका छन्। त्यस्तो बेला आफ्नै नेतृत्वमा सरकार बनाउने दाऊ छोप्न कांग्रेस नलाग्ने नेता महत बताउँछन्।

सरकारमा सङ्कट आउँदा समर्थन गर्ने समझदारी भएको उल्लेख गर्दै उनले भने, “सहयोग लिइसकेपछि आफूले सहयोग नगर्ने भन्ने छैन।” नेता महतका अनुसार सरकारको नेतृत्व आलोपालो गर्दा कसले कति समय गर्ने भन्ने सहमति भएको छैन।त्यसको टुङ्गो लगाउन विस्तृत छलफल हुन बाँकी छ। सत्ताको खेलमा माहिर भनिने देउवा प्रधानमन्त्री बन्न कम्तीमा दुई(तीन वर्ष पर्खिन सक्लान् त भन्ने कतिपयले आशङ्का गर्छन्। बीबीसी हिन्दी डट कमसँग कुरा गर्दै नेपालका लागि भारतका पूर्व राजदूत रंजीत रायले उमेरका कारण पनि देउवाको निम्ति तीन वर्ष पर्खिनु सहज नहुने बताएका छन्।

फागुन २५ पछिको धरमर ? 

कतिपयले फागुन २५ गते हुने राष्ट्रपतिको चुनावपछि नै राजनीतिक अस्थिरता सुरु हुने अनुमान गरिरहेका छन्।नाम नखुलाउन चाहने कतिपय माओवादी नेताहरू नै यसअघि दुई पटक छोटो अवधि सरकार चलाएका प्रचण्ड कम्तीमा एक वर्ष प्रधानमन्त्री बन्नु पनि उपलब्धि हुने ठानिरहेका छन्। त्यो अवधि बढाउनकै निम्ति प्रचण्डले देउवा नै राष्ट्रपति बनिदिउन् भन्ने चाहना राखेको उनीहरू ठान्छन्। तर अब त्यो हुन नसके पनि राष्ट्रपतिको चुनावपछि कांग्रेसले विश्वासको मत दिनेमा माओवादी नेताहरू अविश्वास गर्दैनन्।

नेता गणेश साह भन्छन्, “कांग्रेसले पनि विश्वासको मत लिनु पर्छ। त्यस बेला उसले पाउने पनि ठेगान छैन। त्यसैले त्यसो गर्दैन जस्तो लाग्छ।”यस्ता शङ्का र अनुमानबीच कतिपयले आशङ्का गर्दैजस्तै कतै कांग्रेसले तत्कालै प्रचण्डको हातबाट सत्ता खोस्ने त होइन ? कांग्रेस प्रवक्ता महतको जबाफ छ, “अहिले त्यस्तो छैन। शक्ति बाँडफाँटबारे समझदारी होला।”