काठमाडाैँ । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले सत्तारूढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताएकी छन्।
सोमबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले सत्ता गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताएकी हुन्।
नेतृ घर्तीको टिमले साेमबार काठमाडौँ क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरूसँग भेटघाट गरेकी थिइन्। उनले आफू नागरिकमाझ काम गर्नसक्ने प्रतिवद्धतामात्रै लिएर उपस्थित भएको बताइन्।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेकी घर्तीले वाम गठबन्धन बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताइन्।
नेतृ घर्तीले भनिन्, ‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिवद्धता लिएर आएका छौँ। जे सक्छौँ त्यो गर्छौँ, जे बोल्छौँ, त्यो गर्छौँ। आज हामी वाम लोकतान्त्रिक गठबन्धन चुनावी घरदैलोको क्रममा छौँ। घरदैलो अभियान एकदमै उत्साहपूर्वक छ। कार्यकर्ता र जनसमुदायले आगामी जितको लागि स्वागत गरिरहनुभएको छ। हाम्रो एजेण्डामा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ। गबठन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महसुस गरिरहेका छाैँ। हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ।’
पछिल्लो समय निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरू पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन्।














