काठमाडौं । तराई मधेसमा छठ पर्वको तयारी र चहलपहल शुरु भएको छ। दशै र तिहारको रौनक सकिए सँगै नेपालीहरूको घर दैलाेमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ।
दिपावली सकिए लगत्तै चार दिनपछि नै छठ शुरु हुने हुँदा बजारमा छठ पूजाका लागि चाहिने पुजन सामाग्री, बस्त्र, फलफुल, तेल, मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिलेदेखि नै ग्राहकहरुको भिडभाड देखिन थालेको छ । कार्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा शुरु हुने छठ पर्व सप्तमी तिथीका दिन बिहानसम्म गरि चार दिन मनाइन्छ।
तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषि हिन्दूको प्रमुख पर्व नै छठ पूजा हो। यसपालि छठ पूजा कात्तिक १३ गते परेको छ। तर विधिवित रुपमा भने शुक्रबारदेखि नै छठ पर्व शुरु हुनेछ। दिपावलीसँगै तराई मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री, भाडाँवर्तन कपडाको किनमेल शुरु भइसकेको छ। यस्तै नदी , तलाउ , पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ।
छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनकालागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ । यसरी ल्याईएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै अर्घ्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पुर्ण होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ । छठ विशुद्धरुपमा एउटा धार्मीक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन ।
छठपूजामा छठी मातालाई चढाइने मुख्य प्रसाद ठेकुवा हो। जुन गहुको शुद्ध पिठोमा गुण भेली र चिनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ। यस्तै छठी मातालाइ अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा , सुन्तला, पानी सहितको नरिवाल, उखु , हरियो बोडी , पानी सिङगडा , गागल, मुला , अदुवाको बोट लगायतका फलफूल र हरियो तरकारीहरु हुन्। पूजन सामाग्री, प्रसाद र फलफूलहरु बाँसको चोयाबाट बनाइएका छैटा, दउरा टोकरी, नाङ्लो र सुपलीमा राखेर छठी माता र सूर्य भगवानलाई अर्घ दिने गरिन्छ।
अरबाको दिन गाँउका युवाहरु मिलेर छठ मनाईने नदि या ताल या पोखरीको किनार तथा सडक सफागर्ने, घाँसहरु खुर्किने र पानीलाई सफगर्ने चलन छ । तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारकारुपमा गाडिएको केराका थम्वाहरु जम्मा गरेर तिनलाई बाँसले उनेर एकप्रकारको पानीमा नडुब्ने नाँउ बनाईन्छ, केराको थम्वापानीमा नडुब्ने भएकाले यस नाँउमा चढेर, लठ्ठिले खियाँउदै पोखरीको पानी सफा गर्ने गरिन्छ ।