काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले सरकारले आफ्ना पार्टीका सांसदहरू निर्वाचित भएको क्षेत्रमा विकास, निर्माणका लागि विनियोजित बजेट पनि निकासा नदिएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
प्रतिपक्ष दलमाथि प्रतिसाेध साँध्ने गरी बजेट निकासा दिने काम किन नगरेको भन्दै सांसद अधिकारीले त्यसको जवाफ तत्काल दिन सरकारसँग माग गरे।
उनले भने, ‘अघिल्लो सरकारले रणनीतिक महत्त्वका सडकहरू १६५ निर्वाचन क्षेत्रमै अगाडि बढायो। आज ती सुषुप्त अवस्थामा छन् या तिनलाई रोकिएको छ। प्रतिपक्ष प्रतिनिधिसभाका सदस्यहरूले सिफारिस गरेका ठाउँहरूमा बजेट निकासा नदिने वा तिनलाई कामयावी हुन नदिनेसम्मको काम गरिएको छ। र, अनेकौँ विकास आयोजनाहरूमा पनि यस्तो किसिमको गम्भीर सरकारी षडयन्त्रहरू भइरहेका छन्। र, विकास निर्माणको कामलाई ठप्प पारिएको छ। सरकारले यसको जवाफ दिनु पर्दछ। विकास विरोधी सरकार हुनुहुँदैन। सरकारले यदि प्रतिसोध साँध्न खोजेको हो भने जनताले यसको जवाफ चाहन्छन्। र, सरकारले यसको गम्भीरतापूर्वक जवाफ दिनुपर्दछ।’
सांसद अधिकारीले गुठीयारहरूको समस्या समाधान गर्न सरकार उदासीन रहेको भन्दै आक्रोशसमेत व्यक्त गरे। केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सोसम्बन्धी विधेयकको विरोध गर्नेहरू अहिले सरकारमा रहेको उल्लेख गर्दै उनले ती समस्या समाधान गर्न सरकारलाई दवाव दिए।
उनले भने, ‘अघिल्लो केपी ओली नेतृत्वको सरकार हुँदाखेरी गुठीसम्बन्धी विधेयक हामीले छलफलमा ल्यायौँ, गम्भीर छलफल र बहस भयो। आज यत्रा समस्याहरू छन्। धादिङमा, पलाञ्चोक, म्याग्दीलगायत देशका विभिन्न भागमा अहिले पनि गुठी समस्या छन्। र, ती गुठीको समस्या समस्या समाधान गर्न सरकारले कुनै ध्यान दिएको छैन। यो सरकारले हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयकलाई भड्काउन माइतीघर मण्डलामा जुलुसमा सामेल हुनेहरू अहिले सत्तामा हुनुहुन्छ। उहाँहरू के गर्दै हुनुहुन्छ? गुठी समस्या समाधान गर्न सरकारले जवाफ दिन्छ कि दिँदैन? सरकार गुठीयारहरुप्रति जवाफदेही छ कि छैन? यसको जवाफ चाहियो।’














