धनकुटा : स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्धनका लागि धनकुटा नगरपालिका ६ मा औद्योगिक ग्राम सञ्चालन गर्न करोडौँ रूपैँया खर्च गरी संरचना निर्माण गरिएको छ। तर संरचना निर्माण गरिएको चार बर्ष बित्दा समेत ग्राम सञ्चालनमा आउन सकेको छैन।औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। तर, लामो समयसम्म कुनै पनि उद्योग स्थापना नभएपछि अन्तत: औद्योगिक ब्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर ग्राम स्थापनाको तयारी गरिएको थियो।पहिलो चरणमा सुर्खेत र धनकुटामा औद्योगिक ग्राम स्थापनाको तयारी गरिए पनि धनकुटामा भने पहिलो चरणको भवन निर्माण भइसकेको छ। नेपालमै पहिलो पटक धनकुटामा औद्योगिक ग्राम निर्माण भए पनि दुई बर्षसम्म सञ्चालन कार्यविधि अभावका कारण रोकिएको थियो। तर कार्यविधि बनेको २ वर्ष बित्न लाग्दा पनि औद्योगिक ग्राम सञ्चालनमा आउन सकेको छैन।
औद्योगिक ग्राममा करिब एक बर्ष पहिले नै पहिलो चरणको संरचना निर्माण भइसकेका छन्। अहिले थप संरचना निर्माणको काम पनि धमाधम भइरहेको छ। पहिलो चरणमा निर्माण भएका संरचनामा उद्योग सञ्चालनको तयारी गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख इश्वर थापाले जानकारी दिए।अहिलेसम्म २५ वटा ब्लक निर्माण पूरा गरी यही आर्थिक वर्ष भित्र सञ्चालन गर्ने गरी टेन्डर आव्हान गरिए पनि १३ साना तथा घरेलु उद्योगीले मात्र टेन्डर भरेका छन्। जसमा ५ वटालाई सञ्चालनको अनुमति दिइने भएको प्रमुख थापाले जानकारी दिए। उनले औद्योगिक ग्राममा साना घरेलु तथा लघु उद्यमीलाइ प्राथमिकतामा राखिएको बताए।करिब १५ करोड रुपैयाँको लागतमा निर्माण गरिसकिएको करिब दुई दर्जन ब्लक प्रयोग बिहीन छन्। औद्योगिक ग्राममा पहुँच मार्ग, पर्खाल, गेट, दुई वटा चर्पी, बाथरुम, नाली र पानी ट्याङ्की निर्माण गरिएको छ।














