सिंहदरबार वैद्यखानाका कर्मचारी दैनिक कार्यालय आउँछन् हाजिर गरेर फर्किन्छन्

164

काठमाडौं : चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो।उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन्। समितिको अवस्था बिग्रिँदै गएपछि कर्मचारीले २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन्। तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन्। व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा धर्ना दिँदै आए पनि सुनुवाइ नभएको कर्मचारीको गुनासो छ । उत्पादन नभएपछि तलब नपाउने र कार्यालयमा आएका कर्मचारीले पनि काम नपाउने समस्या भएको छ।

काम नभएपछि करिब ५० जना कर्मचारी दैनिक कार्यालय आउँछन्। हाजिर गरेर फर्किन्छन्। आयुर्वेदिक औषधि उत्पादन गर्ने यो समिति आफैँ उपचार गर्नुपर्ने अवस्थामा पुगेको छ। औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला व्यवस्थापनले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका छन् । व्यवस्थापनले भने उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने भन्दै काम नभएको बेलामा पनि तलब खुवाएर राखिरहेको छ।उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रासबाहेकका उत्पादन पाइँदैन। गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न राजा प्रताप मल्लका पालामा स्थापना भएको समितिमा तीन महिनादेखि पूरै काम ठप्प छ।समितिको बिक्रीकक्षमा काम गर्ने आदित्य ठाकुर छ महिनादेखि शिलाजित सकिएको बताउँछन्। बिक्रीकक्षमा दैनिक २५ जना शिलाजित लिन आउँथे। ग्याष्ट्रिकमा काम गर्ने अविपत्तिकर चूर्ण सकिएको चार महिना पूरा भयो।