बेनी सामुदायिक माध्यमिक विद्यालयमा नमुना मतदान

123

बैशाख २३,
बेनी : स्थानीय तह निर्वाचनको झल्को दिने गरी म्याग्दीको बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा नमुना मतदान सम्पन्न भएको छ। स्थानीय निर्वाचनमा आफ्ना अभिभावकलाई मतदान गर्न सिकाउन, विद्यालयमा आएका अभिभावक र अन्य मतदाताहरूलाई समेत निर्वाचनका सम्पूर्ण प्रक्रियासहित मतदान कार्यक्रम आयोजना गरिएको हो। विद्यार्थीलाई मतदान प्रक्रियाका बारेमा जानकारी दिने, आफ्नो भोटको महत्त्व बुझाउने, आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने र बदर मत प्रतिशत घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए।

निर्वाचन कार्यालय म्याग्दी र नेपाल पत्रकार महासंघ म्याग्दीको संयुक्त आयोजनामा नमुना मतपत्रमा मतदान गरिएको हो। मत बदर कम गराउने उद्देश्यले बेनीमा बेनी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र सरोकारवालाहरूको उपस्थितिमा नमुना मतदान गरिएको थियो। यस निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएका कारण मत बदर कम गराउन नमुना मतदान कार्यक्रम गरिएको निर्वाचन अधिकारी घिमिरेले बताए। नमुना मतदानमा महिला पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगेर उम्मेदवारलाई मतदान गर्ने र मतदातालाई मतपत्र पट्याउने तरिका सिकाइएको निर्वाचन अधिकारी घिमिरेले जानकारी दिए।