बागमतीमा पिपिआर रोगविरुद्ध मंगलबारदेखि खोप अभियान शुरु

100

माघ २४,

हेटौंडा : बागमती प्रदेश सरकारले मंगलबारदेखि भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ।प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरि प्रदेशका भेडाबाख्रामा लाग्ने पिपिआर नियन्त्रण गर्न सबै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो।

भेडाबाख्रामा लाग्ने घातक र संक्रामक रोग हैजा अर्थात पिपिआरको औषधि उपचार नभएकाले रोगबाट सुरक्षित राख्न खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ।प्रदेश सरकारले भेडाबाख्रामा लाग्ने पिपिआर नियन्त्रण तथा रोकथामका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना २०७८ बनाएर कार्यान्वयनमा ल्याएको छ।मन्त्रालयका प्रवक्ता राजन ढकालका अनुसार पिपिआर लागेका भेडाबाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दलेजस्तो देखिने, एकै बगालका धेरै भेडा मर्ने, ज्वरो आउने, नाकबाट सिँगान बग्ने, आँशु झर्नेजस्ता लक्षण देखा पर्छन्।

पिपिआर भाइरसका कारण भेडाबाख्रामा लाग्ने एक प्रकारको संक्रामक रोग हो। यसको रोकथामका लागि खोप मात्र एउटा उपाय भएको उनको भनाइ छ।प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा १ हजार १ सय ३७ खोप केन्द्रबाट खोप लगाउने तयारी गरेको छ। खोप लगाउन मन्त्रालयले ४ सय ६० जना खटाएको जानकारी उनले दिए।उनले भेडाबाख्रा धेरै भएका ठाउँमा धेरै र थोरै भएका ठाउँमा थोरै खोप केन्द्र स्थापना गरिएको बताए।

उनका अनुसार नुवाकोटमा ८०, रसुवामा २८, दोलखामा १ सय २१, सिन्धुपाल्चोकमा २८, सिन्धुलीमा २८, रामेछापमा ४० र काठमाडौंमा ३८ खोप केन्द्र स्थापना गरिएको छ।त्यसैगरि ललितपुरमा ३०, भक्तपुरमा १२, काभ्रेमा १ सय ७, चितवनमा ४४, मकवानपुरमा ४ सय ९६ र धादिङमा ८६ वटा केन्द्र स्थापना गरिएको छ।